आउँदो दसैँमा चलचित्रको भीड लाग्दै, ओभरफ्लो खाने लोभ
काठमाडौं । यो वर्षको दसैँमा दुईवटा चलचित्र ब्लकबस्टर हिट भए । ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ले ब्लकबस्टर कमाइ गरे । सँगै आएको ‘ज्वाइँसाब’ले पनि राम्रै कमाइ गर्यो । हाइप त गज्जवको बनाएको थियो ।
यो वर्षको दसैँले दुईवटा चलचित्र गज्जवले चल्न सक्छन् भन्ने प्रमाणित गरिदिएको छ । सँगै आउने अर्को चलचित्रले दुईवटा राम्रा सिनेमा एकसाथ आए त्यसको ओभरफ्लो खान पाउँछ भन्ने पनि प्रष्ट भएको छ ।
दुईवटा ठूला ब्यानरका चलचित्रसँग भिड्न आएपछि हाइप पनि यसै बनिहाल्छ । यो पनि यो वर्षको दसैँले प्रमाणित गरिदिएको छ ।
यो वर्षको दसैँमा आएका चलचित्रको ब्यापार र ओभरफ्लोको राम्रो सम्भावनाले आउँदो दसैँमा चलचित्रको भीड लाग्ने निश्चित छ । अहिलेसम्म घोषणा गरेका चलचित्रको संख्या हेर्दा पनि यो प्रष्ट हुन्छ ।
आधा दर्जनको हाराहारीमा निर्माताले दसैँमा चलचित्र रिलिज गर्ने घोषणा गरिसकेका छन् ।
हालसम्म अशोक शर्मा, प्रदीप भट्टराई, रोहित अधिकारी, विराज विष्ट, भुवन केसी र सुशील पोखरेलले चलचित्र दसैँमा रिलिज गर्ने घोषणा गरिसकेका छन् ।
निर्माता रोहित अधिकारी लेख्छन्, “…अरु भित्रभित्रैको तयारी देख्दा १३ ओटा पुगे रे आउने दसैँलाई चलचित्रको रिलिज ।”
सबै दसैँ भनेर आफ्नो चलचित्रको प्रचार गर्ने तर अन्तिममा अर्कै मितिमा आउनुपर्दा अन्ततः त्यसको असर पर्ने निर्मातालाई नै हो । प्रचार गरिसकेपछि पछि हट्न जुँगाको लडाइँको सवाल हुने भएकाले सुरुमै सहमतिमा पुगेर रिलिज डेट लिनु नै व्यापारिक हिसाबले उपयुक्त होला ।
अन्तिम समयमा आएर पछि हट्नुभन्दा सुरुमै उपयुक्त डेट खोज्नु नै मेकरको हितमा हुनेछ । ओभरफ्लो खाने लोभ गर्नुभन्दा पनि राम्रो चलचित्र बनाएर उपयुक्त डेट खोज्नु नै उपयुक्त होला ।