धेरै कमाउने लोभ नगरौँ, ‘उँट’ जस्तो चलचित्र बन्ला

यो वर्षको पूर्वसन्ध्यादेखि नै नेपाली चलचित्र उद्योगमा बक्सअफिस कलेक्सन सुखद देखियो । चैत ९ गतेबाट ‘महाजात्रा’ले बक्सअफिसमा सुरु गरेको सुखद नतिजा आजसम्म जारी छ । ‘महाजात्रा’ले घरेलु बजारमा १६ करोड माथि कलेक्सन गर्दा त्यसपछिका चलचित्रले पनि उत्साह थपे ।

‘डिग्री माइला’ र ‘मनसरा’ले बक्सफिसमा हाइप र अपेक्षा अनुसार कलेक्सन नगरे पनि बक्सअफिसमा राम्रै नतिजा दिएर गए । ‘बोक्सीको घर’ले नसोचेको कमाइ गर्‍यो । दश करोडका आंकडा पार गर्दैगर्दा यसकी मुख्य अभिनेत्री तथा निर्मात्री स्वयं केकी अधिकारी सिनेमाको ब्यापार देखेर आफूलाई सपनाजस्तै लागिरहेको बताइरहेकी थिइन् ।

‘फर्की फर्की’ र ‘पुजार सार्की’का निर्माताले लगानी सुरक्षित गरिसकेको बताएका छन् । यी दुवै सिनेमा अहिले हलमा छन् ।

अब शुक्रबारबाट हाइप बनाएको र धेरैले ठूलो अपेक्षा गरेको चलचित्र ‘गाउँ आएको बाटो’ रिलिज भएको छ । नवीन सुब्बाको निर्देशन रहेको यो चलचित्र टोरन्टो, बुसानलगायत इन्टरनेशनल फिल्म फेस्टिभलमा पुगेको सिनेमा हो । एकातिर नवीन सुब्बाको आफ्नै ब्रान्ड अर्कोतिर विदेशी चलचित्रमा पुगेकाले सिनेमा आफैँले बनाएको ब्रान्ड । यो सिनेमा कति र कसरी चल्छ । यो जान्न करिब आइतबारसम्म कुर्नैपर्छ । तर चलचित्रले धेरै शो पाएको छैन । वर्ड अफ माउथ कस्तो हुन्छ, त्यसले नै यसको बक्सअफिस निर्धारण गर्नेछ । प्रायः सोसल ड्रामा वर्ड अफ माउथको सहारामा चल्ने हो । त्यसैले सुरुका दिनभन्दा सप्ताहन्तमा यस्ता चलचित्रको अकुपेन्सी उच्च हुन्छ ।

विदेशी फेस्टिभलमा गएर राम्रो प्रशंसा बटुलेको चलचित्र ‘द रेड सुटकेस’ केही समय अगाडि रिलिज भएको थियो । यो चलचित्रले बक्सअफिसमा २५ लाखको वरिपरि ग्रस कलेक्सन गरेको थियो । त्यसअघि रिलिज भएको फेस्टिभल ओरियन्टेड चलचित्र ‘हल्कारा’ले पनि राम्रो कलेक्सन गर्न सकेको थिएन । त्यसैले फेस्टिभलमा गएका चलचित्रले आकर्षक कलेसक्सन गर्दैनन् भन्ने भाष्य छ ।

‘गाउँ आएको बाटो’ले फेस्टिभल र घरेलु दर्शकलाई जोड्ने नवीनले बताउँदै आएका छन् । त्यहीअनुसार आफूले चलचित्र बनाएको बताएका छन् । यसैलाई मध्यनजर गर्दै मेकिङमा पनि ध्यान दिएको नवीनले पब्लिसिटीमा बताउँदै आएका छन् । यो अभिव्यक्ति त एउटा पछिल्लो उदाहरण मात्र हो । सोसल ड्रामा उठान गर्ने निर्देशक तथा निर्माताले प्रायः यस्तै अभिव्यक्ति दिने गरेका छन् ।

विषयप्रधान सिनेमा मन पराउने र लार्जर देन लाइफ सिनेमा मन पराउने दर्शकको टेस्टमा ठूलो अन्तर छ । उमेर र समूह नै फरक पर्छ । यी दुई खालका सिनेमाका लक्षित बर्ग नै फरक हो । यी दुवै दर्शकलाई लक्षित गरेर चलचित्र बनाउँदा कतै चलचित्र उँट जस्तो त बन्दैन । अलिकति कमर्सियल, अलिकति कन्टेन बेसको फेल्बर दिन खोज्दा न यता न उताको त बन्दैन । उँट जस्तो चलचित्र बनेर कमर्सियल र कन्टेन ओरियन्टेड दुवैका दर्शकले हेरेरनन् भने बक्सअफिसमा अवस्था कस्तो होला ? हलमा नचलेको चलचित्र ओटीटीमा पनि जाँदैन । गए पनि नेपालमा त्यस्तो ओटीटी छैन, जसले निर्मातालाई लगानी उठाउन भरथेग गरोस् ।

चलचित्र आफैँमा कमर्सिल र नन्कमर्सियल भन्ने हुँदैन । जुन चलचित्र चल्यो त्यही कमर्सियल हो । त्यसैले राम्रो चलचित्र बने जुनसुकै जनराको सिनेमा पनि चल्छ । लार्जरदेन लाइफ पनि चल्छ । विषयप्रधान सिनेमा पनि चल्छ । त्यसैले यताका दर्शक पनि ल्याउँछु उताका दर्शक पनि ल्याउँछु भनेर ठूलो सपना देख्दा लगानी डुब्ने अवस्था नआओस् । यस्तो अवस्था आउनु अगाडि नै सचेत बन्नुपर्छ ।

‘ग्रे जोन’मा पनि दर्शक त होलान्, विषयप्रधान र लार्जर देन लाइफको बीचमा रहेर बनेका सिनेमा हेर्ने । तर, यस्ता दर्शकको संख्या कति छ । नेपालमा न आजसम्म सिनेमा र सिनेमाका दर्शकलाई लिएर कुनै रिसर्च छ र अध्यनन् नै । यस्तो सिनेमाका दर्शक यति छन् भन्ने रिसर्च छैन । त्यसैले सबैले अन्दाज नै गर्ने हो ।

त्यसैले सबैले हेर्ने चलचित्र तानतुन पारेर बनाउँछु भनेर भन्दा पनि राम्रो चलचित्र बनाउँछु, राम्रो चलचित्र बन्यो भने जुन लक्षित समुदाय हो त्यो आयो भने लगानी रिकभर हुन्छ भन्ने सोच निर्देशक र निर्मातामा हुनु आवश्यक छ । जुन विषय र जनरामा काम गर्ने हो, त्यसमा इमान्दार भएर राम्रो चलचित्र निकाल्ने हो भने लक्षित समुदायमात्र होइन अर्को जानरा र अर्कै लक्षित समुदायका भनिएका दर्शकले पनि सिनेमा हेर्छन् । त्यसैले सबैभन्दा पहिला निर्देशक तथा निर्माता इमान्दार हुुनुपर्छ । इमान्दार भए राम्रो चलचित्र बन्ने सम्भावना हुन्छ । राम्रो चलचित्रले दर्शक आफैँ खोज्छ ।