विपिन कार्की: नाम लिन नचाहेको चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड जिते
काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नो अभिनय यात्रामा अर्को ऐतिहासिक सफलता हात पारे । बुधबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा उनले चलचित्र ‘प्रसाद २’ बाट ‘उत्कृष्ट अभिनेता’को अवार्ड जिते । यसअघि पनि उनले चलचित्र ‘प्रसाद’बाटै यो अवार्ड जितेका थिए ।
तर, ‘प्रसाद २’बाट यो सफलता हात पार्दै गर्दा विपिनले मिडियामा भन्दै आएको एउटा भनाइ यतिबेला पुनः चर्चाको विषय बनेको छ । उनले पटक-पटक अन्तरवार्ता दिने क्रममा ‘प्रसाद २’ लाई लिएर आफ्नो असन्तोष व्यक्त गर्दै आएका थिए । यस चलचित्र निर्माणको समयमा उनले ठूलो तनाव झेल्नु परेको थियो। त्यतिमात्र होइन, उनले यसै कारण बलिउडको चलचित्र ‘एनिमल’ को अफर पनि गुमाउनु परेको बताउँदै आएका थिए ।
‘प्रसाद २’ रिलिजको समयमा विपिन र निर्माण टिमबीच ठूलो विवाद भएको थियो । चलचित्र निर्माण र प्रचारप्रसारका क्रममा उत्पन्न समस्या तथा असमझदारीका कारण यो फिल्म टिमका धेरै सदस्यहरु समस्यामा परेका थिए। विपिनले यो चलचित्रको नाम समेत लिन नचाहने बताएका थिए ।
तर, अवार्ड जितेपछि भने विपिनको प्रतिक्रियामा उत्साह झल्कियो। उनले आफ्नो अभिनयको मूल्यांकन भएकोमा खुशी व्यक्त गरे। यो अवार्डले उनलाई नयाँ उर्जा प्रदान गरेको बताए ।
“मेरो लागि अभिनय सधैं पहिलो प्राथमिकता हो । यो अवार्डले मलाई थप जिम्मेवार बनाएको छ,” उनले अवार्ड ग्रहण गर्दै भने ।
‘प्रसाद’ सिरिजको पहिलो चलचित्रले सफलताको शिखर चुमे पनि दोस्रो भागले विवाद र आलोचनाको सामना गर्नु परेको थियो । तर, विपिनको अभिनयले भने दर्शक र समीक्षकको मन जित्न सफल रह्यो । यस अवार्डसँगै विपिनले आफ्नो अभिनयको पहिचान थप सुदृढ गरेका छन् ।