विपीन जुन चलचित्रको नाम लिन चाहँदैनथे त्यसैबाट उत्कृष्ट अभिनेताको अवार्ड जिते

काठमाडौं । अभिनेता विपीन कार्कीले आफ्नो अभिनय यात्रामा अर्को ऐतिहासिक सफलता हात पारे । बुधबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा उनले चलचित्र ‘प्रसाद २’ बाट ‘उत्कृष्ट अभिनेता’को अवार्ड जिते । यसअघि उनले पहिलो पटक चलचित्र ‘प्रसाद’बाटै यो अवार्ड जितेका थिए ।
तर, यो सफलतासँगै विपीनले चलचित्र ‘प्रसाद २’ को नाम लिन नचाहेको पुनः चर्चाको विषय बनेको छ । विपीनले पटक–पटक मिडियामा अन्तरवार्ता दिने क्रममा ‘प्रसाद २’ लाई लिएर आफ्नो असन्तोष व्यक्त गर्दै आएका थिए । यस चलचित्र निर्माणको समयमा उनले ठूलो तनाव झेल्नु परेको थियो । त्यतिमात्र होइन, उनले यसै कारण बलिउडको चलचित्र ‘एनिमल’को अफर पनि गुमाउनु परेको बताउँदै आएका छन् ।
‘प्रसाद २’ रिलिजको समयमा विपीन र निर्माण टिमबीच ठूलो विवाद भएको थियो । चलचित्र निर्माण र प्रचारप्रसारका क्रममा उत्पन्न समस्या तथा असमझदारीका कारण यो फिल्म टिमका धेरै सदस्यहरु समस्यामा परेका थिए । विपिनले यो चलचित्रको नाम समेत लिन नचाहने बताएका थिए ।
कलाकार र निर्देशकबीचको विवाद चलचित्र निर्माता संघमा पुगेको थियो । संघले दुवै पक्षलाई बोलाएर छायांकनमा जाने सहमति गराइदिएको थियो । त्यसपछि मात्रै ‘प्रसाद २’को छायांकन भएको थियो । पारिश्रमिक र स्टोरी बोर्डको विषयलाई लिएर सुरु भएको विवादले मनमुटाव सिर्जना गर्दै कलाकार छायांकनस्थल नै छोडेर हिड्ने अवस्था आएको थियो ।
तर, अवार्ड जितेपछि भने विपीनको प्रतिक्रियामा उत्साह झल्कियो । उनले आफ्नो अभिनयको मूल्यांकन भएकोमा खुशी व्यक्त गरे । यो अवार्डले नयाँ उर्जा प्रदान गरेको बताए ।
“मेरो लागि अभिनय सधैं पहिलो प्राथमिकता हो । यो अवार्डले मलाई थप जिम्मेवार बनाएको छ,” उनले अवार्ड ग्रहण गर्दै भने ।
‘प्रसाद’ सिरिजको पहिलो चलचित्रले सफलताको शिखर चुमे पनि दोस्रो भागले विवाद र आलोचनाको सामना गर्नु परेको थियो । तर, विपीनको अभिनयले भने दर्शक र समीक्षकको मन जित्न सफल रह्यो । यस अवार्डसँगै विपीनले आफ्नो अभिनयको पहिचान थप सुदृढ गरेका छन् ।