अरुलाई कमजोर नआँक

नेपाली चलचित्र उद्योगमा एकले अर्कोलाई सकेसम्म निषेध गर्नु सामान्य सरह छ । सक्नले आफ्नो चलचित्र आफूले रोजेको मितिमा ल्याउने, अरुले पहिला नै लिएको डेटमा चलचित्र खप्ट्याउनु सामान्य प्रायः छ ।

यो गलत अभ्यासले नपाली निर्माताहरू मारमा पर्दै आएका छन् । प्रत्यक्ष रूपमा असर निर्मातालाई मात्रै परेको देखिए पनि अप्रत्यक्ष असर भने सिनेमाका सरोकारवाला सबैलाई परिरहेको छ ।

यो फागुन १४ गते चारवटा चलचित्र रिलिज हुँदैछन् । ‘मायावी’, ‘लाज शरणम्’, ‘हेस्टेल–३’ र ‘आउट ल’ यो मितिमा एकै दिन आउने भएका छन् ।

‘होस्टेल–३’ दुई दिनपछि आउने भने पनि अगाडि आउने सम्भावना रहेको बताइएको छ । दुई दिनपछि नै रिलिज भए पनि त्यो खासै धेरै टाढाको मिति होइन ।

नेपाली चलचित्र उद्योगमा सिनेमा हलले एकैपटक धान्ने दुईवटा चलचित्र हो । यो स्वयं वितरकहरूले नै बताउँदै आएका छन् ।

मेरो सिनेमाले पैसा नकमाओस भन्ने हो भने, धेरै दर्शकले नहेरे पनि फरक पर्दैन भन्ने हो भने अर्कैै कुरा, चलचित्रको लगानी डुबे पनि डुबोस् भन्ने हो बेग्लै कुरा हो । होइन सिनेमा धेरैधन्दा धेरै दर्शकले हेरुन्, नाफा पनि कमाओस्, चाहेका दर्शकले हेर्न पाउन् भन्ने हो भने एकैपटक चार/चारवटा चलचित्र रिलिज हुनु पक्कै पनि राम्रो होइन ।

त्यसअगाडिका र पछाडिका चलचित्रले पनि शो लिन्छन् । त्यसैले चार/चारवटा चलचित्र रिलिज गर्नु गलत हो । लगानी उठाउने सवालमा पनि ठूलो जोखिम हो ।

एकले अर्कोको चलचित्रलाई कमजोर आँक्दा पनि चलचित्र जुधाउने हिम्मत आएको हुनसक्छ । यदि, यो सोचले चलचित्र खप्टिएका र खप्ट्याउने हो भने यो निर्माता र चलचित्र स्वयंका लागि प्रतित्युत्पादक हो ।

एकले अर्कोलाई कमजोर ठानेर सँगै आउने हो भने त्यो गलत निर्णय हो । किन भने कुन चलचित्र चल्छ र कुन चल्दैन भन्ने हलमा नआएसम्म थाहा हुँदैन । दर्शकले कुन चलचित्र मन पराउँछन् भन्ने यकिन कसैले पनि पहिला नै गर्न सक्दैन ।

उदाहरणका लागि ‘पूर्ण बहादुरको सारङ्गी’लाई लिन सकिन्छ । यो चलचित्रलाई यसरी चल्छ भन्ने कुनै वितरक र निर्माताले सोचेका थिएनन् । यो चलचित्रले ‘छक्का पञ्जा’ र ‘१२ गाउँ’को समेत शो खोस्यो । यसले शो दिँदैन भनेर ‘मिसिङ केटी हराएको सूचना’ पछि सर्यो । ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’को व्यापारमा ‘पूर्ण बहादुरको सारङ्गी’ले परोक्षरूपमा असर गरिरहेको छ ।

यसले पनि कुनै पनि चलचित्रलाई कमजोर नकाआँक्न प्रष्ट सन्देश दिएको छ । आँखै अगाडि ताजा उदाहरण हुँदाहुँदै अरुको सम्भावना र अस्तिवलाई नस्वीकार्ने हो भने अन्ततः पछुताउने आफैँ हो । त्यसैले समय छँदै सही निर्णय लिनु बुद्धिमानी हुनेछ ।