बदनाम हुँदै राष्ट्रिय चलचित्र अवार्ड, खिइँदो शाख कसरी जोगाउने ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा अवार्ड यति धेरै बदनाम छन्, यसबारे सबै कुुरा सबैलाई थाहा छ । अब्बल सृर्जना र मेकरको सम्मानका लागिभन्दा पनि व्यवसायिक प्रयोजनका लागि अवार्ड हुन्छन् ।
विदेश जान भिसाका लागि डकुमेन्ट बलियो बनाउने उद्देश्यका लागि अवार्ड हुन्छन् । विदेश जान भिसा सहजै लागोस् भनेर अवार्ड किनबेच हुन्छन् । यति मात्रै होइन मोटो रकम लिएर विदेश छोड्नका लागि विदेशमा अवार्ड कार्यक्रम हुन्छन् । यसबारे कोही बेखबर छैन । कसैले अनदेखा गर्छ भने त्यो बेग्लै कुरा हो ।
त्यसैले आजकाल चलचित्र अवार्डप्रति धेरैलाई रुचि छैन । कति चलचित्र निर्माता, निर्देशक र कलाकार यस्ता अवार्ड लिन नै जाँदैनन् ।
यति मात्रै पनि होइन, पछिल्लो समय राम्रा चलचित्र बनाउने इमानदार मेकरले अवार्डमा आफ्नो सिनेमा दिन नै छाडेका छन् । यसले पनि अवार्डप्रति कति धेरै अविश्वास छ भन्ने प्रष्ट पार्छ । यसले अवार्ड कति बदनाम भइसकेछन् भन्ने प्रष्ट पार्छ ।
अवार्डको गरिमा घट्दै गइरहेका बेला सरकारले प्रदान गर्ने राष्ट्रिय चलचित्र अवार्डप्रति धेरैपछिसम्म पनि धेरैको विश्वास थियो । विपीन कार्कीले केही वर्ष अगाडि नै भन्नेगर्थे– हाम्रा अवार्ड बदनाम भए ।
अवार्ड लिँदा पनि किनेर लिएको हो कि भनसुन गरेर ल्याएको हो कि भन्ने भयो । त्यसैले अब म यस्ता अवार्ड लिन्नँ । राष्ट्रिय अवार्डबाहेक अरु कुनै अवार्डमा जान्नँ ।
पछिल्लो समय सरकार मातहतको चलचित्र विकास बोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र अवार्डको मर्यादा र विश्वस्नीयता पनि स्वाट्टै घट्दै गएको छ ।
हरेक वर्ष अवार्ड विवादित हुन थालेपछि राष्ट्रपति कार्यालयले यो अवार्ड वितरण गर्न पनि हिचकिचाउन थालेको छ ।
अघिल्लो वर्ष चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा अवार्डको सबैभन्दा महत्वपूर्ण मानिने र अघिल्ला वर्षहरूमा बाँडिएको ‘उत्कृष्ट फिल्म’को विधा गायब भएको थियो । जुरीले उक्त विधामा चलचित्र छनोट गरे पनि अवार्ड तथा पुरस्कार वितरण समारोहमा उक्त विधा नै गायब भएपछि अवार्ड विवादित भएको थियो ।
विवाद अदालतसम्म पुगेको थियो । यसले राष्ट्रिय अवार्डमा पनि कति बदनाम भइसक्यो । र, यसभित्र पनि कति चलखेल हुन्छ भन्ने प्रष्टै देखाउँछ । यस्तो अवार्डप्रति चलचित्रकर्मीको भरोसा कसरी कायम रहन्छ, यो आफैँमा गम्भीर प्रश्न हो ।
यो वर्षको अवार्ड पनि विवादरहीत हुन सकेन । वर्षकै हिट चलचित्र नै अवार्डबाट बञ्चित भएको भन्दै चलचित्रकर्मीहरू नै असन्तुष्ट भएका छन् । सामाजिक सञ्जालमा असन्तुष्टि पोेखिरहेका छन् ।
‘जारी’ चलचित्र वर्षकै हिट थियो । व्यापार मात्रै होइन, समीक्षा पनि राम्रो पाएको थियो । तर यो चलचित्रले किन कुनै पनि अवार्ड पाएन भन्नेहरूको संख्या ठूलो छ ।
सामाजिक सञ्जालमा आवाज उठाएकै भरमा अवार्ड दिनुपर्छ भन्ने होइन । सर्वाधिक वा राम्रो व्यापार गर्ने चलचित्र अवार्डको हकदार हुन्छ भन्ने पनि होइन ।
कुन चलचित्रलाई अवार्ड दिने र नदिने त्यसको सर्वाधिकार निर्णायक मै हुन्छ । निर्णायकले गरेको निर्णयमा सरोकारवाला संस्थाले हस्तक्षेप गर्ने अधिकार राख्दैनन् ।
तर, निर्णायकले गरेको निर्णय सबैले स्वीकार्न सक्ने हुनुपर्छ । सतप्रतिशत स्वीकार्य अवार्ड हुनै सक्दैन । तर, तेस्रो पक्षले पनि आवाज उठाउने गरी निर्णय हुन्छ भने त्यसमा भने शंका गर्ने ठाउँ रहन्छ । तेस्रो पक्षले पनि आवाज उठाउनु लाजमर्दो निर्णय हो ।
तटस्थ दर्शकको पनि आँखा बिजाउने निर्णायकले सिनेमा, अभिनेता, अभिनेत्री, कथा, पटकथा, सम्पादक छान्छन् भने त्यसमा भने कि निर्णायकको निर्णय क्षमतामा प्रश्न गर्ने ठाउँ रहन्छ, होइन भने तालुकवाला निकायले बीचमा खेल्यो कि भन्ने ठाउँ निश्चय नै हुन्छ ।
निर्णायक क्षमतावान छन् र उनीहरूको निर्णय हेरफेर भएको छ भने उनीहरू बोल्नुपर्छ । होइन भने उनीहरूको नियतमा पनि प्रश्न उठाउने ठाउँ रहन्छ ।
कम्तीमा राष्ट्रिय अवार्डको त गरिमा रहोस् । एउटा मात्रै भए पनि अवार्डको त इज्जत रहोस् । निजी कम्पनीले गरेका अवार्डजस्तै राष्ट्रिय अवार्ड पनि स्वयं चलचित्रकर्मीले नै बहिष्कार गर्ने दिन नओस् । निर्माताले चलचित्र नदिने दिन नओस् ।
राष्ट्रिय अवार्डको गरिमा खस्किँदै गएको छ । वितरण गर्ने निकाय हच्किनु, पहिले नै नाम माग्नु, विधा नै अन्तिम सयमा गायब हुनु, असन्तुष्टि अदालतसम्म पुग्नुले राष्ट्रिय अवार्ड खिया लाग्दै गएको प्रमाणित हुन्छ ।
पछिल्ला केही वर्षयता राष्ट्रिय अवार्डको चर्चा हुन छाडेको छ । कहिले आयोजना भयो भन्ने नै अत्तापत्तो हुन छोडेको छ । यसले यो अवार्डप्रतिको आकर्षण बाउन्ने हुँदै गएको संकेत गर्छ । यसलाई कसरी उकास्ने सम्बन्धित निकाय बेलैमा सचेत हुनुपर्छ । नभए अरु अवार्डजस्तै यसको महत्व पनि बाउन्ने हुने निश्चित छ ।