‘ह्रस्व दीर्घ’को दुई हप्ताको कमाई ८.५२ करोड, हिट हुन १२ करोड ग्रस कमाई गर्नुपर्ने
काठमाडौं । कात्तिक ३० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको दुई हप्ता पूरा गरेको छ । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीको निर्माण तथा शीर्ष भूमिका रहेको सिनेमाले तेस्रो हप्ता सुरु गरेसँगै दुई हप्तासम्ममा ८ करोड ५२ लाख ग्रस कमाई गरेको निर्माण पक्षले दाबी गरेको छ ।
चलचित्रले प्रदर्शनको पहिलो हप्तामा ५ करोड ५४ लाख ग्रस कमाई गरेको थियो । दोस्रो हप्तामा भने करिब २ करोड ९८ लाख कमाएको छ । यो कमाई ‘ग्रस’ भएको हुँदा हलको हिस्सा र वितरकको कमिसन कटौती गरेपछि निर्माताको हातमा करिब ४.५ करोड रहने अनुमान छ ।
चलचित्रले तेस्रो हप्तामा देशभर करिब ५० शो पाएको छ । प्रदर्शनको समय लम्बिँदै जाँदा अकुपेन्सीमा भने कमी देखिएको छ । अन्य शहरहरूसँग तुलना गर्दा नेपालगञ्ज र दाङ क्षेत्रमा सिनेमाको व्यापार अझै राम्रो रहेको बताइएको छ ।
६ करोड रुपैयाँको लागतमा निर्माण भएको सिनेमाले नेपालमा मात्र ‘हिट’ बन्नका लागि कम्तीमा १२ करोड ग्रस कमाई गर्नुपर्ने छ। निर्माता ढुंगानाका अनुसार फिल्मले प्रदर्शनको पहिलो हप्तामै आफ्नो लगानी सुरक्षित गरेको दाबी गरेकी छन् ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको यस चलचित्रमा नेपाली र दक्षिण भारतीय कलाकारहरूको विशेष भूमिकामा अभिनय रहेको छ । सिनेमामा भारतबाट प्रदीप रावत, ब्रह्मानन्दम, सुनिल बर्मा, अली र कबीर दुहन सिंह तथा नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, रेखा थापा, सञ्चिता लुइँटेल, आदर्श मिश्रलगायतको अभिनय रहेको छ ।
यो सिनेमालाई बलिउडका चर्चित छायाँकार कवीरलालले छायांकन गरेका हुन् ।
भिजुअल र प्रस्तुतीकरणका कारण ‘ह्रस्व दीर्घ’लाई दर्शकले उच्च गुणस्तरको नेपाली सिनेमाको रुपमा लिएको प्रतिक्रिया दिएका छन् । अब चलचित्रले तेस्रो हप्तामा प्रदर्शनमार्फत आफ्नो कमाईलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
ओटीटी र राइट्सबाट २१ करोडको आँकलन
‘ह्रस्व दीर्घ’ भारतको ओटीटी प्लेटफर्ममा बिक्री भइसकेको छ। निर्मात्री ढुंगानाको अनुमान अनुसार, विभिन्न राइट्सबाट सिनेमाले २१ करोड ग्रस कमाउने अपेक्षा गरिएको छ।
तेलुगु भाषामा रिलिजको तयारी
निर्माण टिमले ‘ह्रस्व दीर्घ’ लाई आगामी वर्ष २०२५ मा तेलुगु भाषामा भारतका हलहरूमा रिलिज गर्ने तयारी गरेको छ । यसबाट चलचित्रले राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।