चर्चित गायक-गायिकाका सन्तान मोडलिङमाः करिअर कि रहर मात्रै ?

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायक–गायिकाका सन्तान मोडलिङमा डेब्यु गरिरहेको देख्न सकिन्छ। तर, उनीहरूको यो यात्रा करिअर बनाउनतर्फ उन्मुख छ वा केवल रहर पूरा गर्नका लागि हो भन्ने चर्चाको विषय भइरहेको छ ।

चर्चित गायिका अन्जु पन्तले छोरी परितोषिकालाई आफ्नै गीतको भिडियोबाट डेब्यु गराइन् । परितोषिकाले ४ वर्षअघि आमाको गीत ‘धेरै माया नदेउ मलाई’ बाट मोडलिङमा डेब्यु गरिन् । त्यसयता उनले ‘तिम्रो सुन्दर रूप’, ‘हौ तिमी मेरो’ लगायतका केही म्युजिक भिडियोमा काम गरिन् । तर चर्चामा आउन सकिनन् । पछिल्लो समय उनका म्युजिक भिडियो आएको देखिएको छैन ।

अर्की चर्चित गायिका मञ्जु पौडेलकी छोरी स्नेहा पौडेलले मोडलिङ यात्रा सुरू गरेको ६-७ वर्ष भैसकेको छ । यो बीचमा उनले थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । केही वेब सिरिजमा समेत काम गरिन् । अभिनय यात्रा सुरू गर्दै गर्दा उनको चर्चा निकै भएको थियो । प्रारम्भमा उनको चर्चा व्यापक भए पनि पछिल्ला वर्षहरूमा उनी पहिलेजस्तो चर्चामा छैनन् ।

यसैगरी हालै मात्र चर्चित गायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनीले पनि मोडलिङमा डेब्यु गरेकी छिन् । बद्रीले आफ्नै गीत ‘कन्या राशि’ बाट छोरीलाई अभिनयमा डेब्यु गराएका हुन् । गीत सार्वजनिक भएसँगै बिहानीको कामको लोकदोहोरी क्षेत्रमा चर्चा समेत भइरहेको छ । बिहानीले करिअर भन्दा पनि रहरले यो म्युजिक भिडियो खेलेको बताएकी छिन् ।

चर्चित गायक–गायिकाका सन्तानले मोडलिङमा सजिलै डेब्यु गरे पनि चलिरहन गाह्रो देखिएको छ । करिअर सोचेर आउनेहरुले मोडलिङमा जम्न भरपुर मेहनत गर्नुपर्ने देखिन्छ । यस्तो परिस्थितिमा चर्चित गायक–गायिकाका सन्तानको मोडलिङ यात्रा केवल पारिवारिक रहरको परिणाम हो वा यसलाई दीर्घकालीन करिअरका रूपमा लिइएको हो भन्ने प्रश्न भने अझै उनीहरुमाथी तेर्सिइरहने देखिन्छ ।