प्रेम सम्बन्धकाे चर्चासँगै धिरज र उपासनाको जोडी फेरि पर्दामा देखिने
काठमाडौं । रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्र ‘माइतीघर’मा यसअघि नै आर्ट खबरले कलाकारहरुको लाइनअपबारे खुलासा गरिसकेको थियो ।
रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको यस चलचित्रको मुख्य कलाकारहरुमा केदार घिमिरे (माग्ने बुढा) र उपासना सिंह ठकुरी यसअघि नै अनुबन्धित भइसकेका छन् । यद्यपि, मुख्य नायकका रुपमा धिरज मगरलाई समावेश गरिएको कुरा औपचारिक रुपमा घोषणा गरिएको छैन ।
यता, धिरज र उपासना फेरि एकपटक पर्दामा एउटै जोडीका रूपमा देखिने भएका छन् । यसअघि उनीहरु चलचित्र ‘खुस्मा’मा जोडीका रुपमा प्रस्तुत भएका थिए ।
चलचित्र ‘खुस्मा’ले बक्स अफिसमा राम्रै सफलता प्राप्त गरेसँगै धिरज र उपासनाको माग नेपाली फिल्म क्षेत्रमा बढेको छ भने पछिल्लो समय उनीहरुको प्रेम सम्बन्धको चर्चा पनि चुलिएको छ । यद्यपि, दुवैले प्रेम सम्बन्ध स्वीकार नगरे पनि उनीहरू नजिकका साथीका अनुसार उनीहरूबीच घनिष्ट प्रेम सम्बन्ध रहेको बताउँछन् ।
‘माइतीघर’ मा उपासना गाउँकी युवतीको भूमिकामा देखिँदैछिन्, तर धिरजको भूमिका हालसम्म गोप्य राखिएको छ । स्रोतका अनुसार, चलचित्रमा गायक तथा अभिनेता प्रकाश सपूत पनि देखिने सम्भावना छ ।
चलचित्रको कथा रामशरण पाठकले लेखेका छन् भने निर्देशन मिलन तामाङले गर्नेछन् । निर्माणमा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ । साथै, चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहने छन् ।
‘माइतीघर’ को छायांकन केही महिनाभित्र सुरु हुने जनाइएको छ । निर्माणपक्षले यो चलचित्र आउँदो वर्षको दशैंको फूलपातिबाट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।