‘बम बहादुर’को ट्रेलरमा सस्पेन्स, थ्रिल र सोसल ड्रामा
काठमाडौं । चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल र सोसल ड्रामासहितको ट्रेलरमा अभिनेता सौगात मल्ल विद्रोही भूमिकामा देखिएका छन् ।
पुस ५ गते रिलिज हुने चलचित्रले दार्जिलिङ क्षेत्रको कथा उठान गरेको छ ।
ट्रेलरमा एक युवाको मुक्ति संघर्षलाई प्राथमिकतामा राखिएको छ ।
‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक संघर्षलाई चित्रण गर्नेछ ।
चलचित्रलाई जोन राईले निर्देशन गरेका छन् । नेपाल र भारतमा एकै दिन रिलिज हुने यो चलचित्र १९८० को दशक अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमाथि आधारित छ ।
चलचित्रमा सौगात मल्लसँगै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङलगायतको अभिनय रहेको छ ।