‘निःशुल्क सिनेमा साक्षरता कार्यशाला’मा के–के हुनेछ ?
काठमाडौं । दुई दशकदेखि सिनेमा अध्यापन गर्दै आएको अस्कर कलेजले ‘निःशुल्क सिनेमा साक्षरता कार्यशाला’ आयोजना गर्ने भएको छ । जेठ २६ र २७ गते अस्करकै कलेजकै प्रांगणमा दुई दिनसम्म ११ बजेदेखि ४ बजेसम्मको कार्यशाला आयोजना गर्न लागेको हो ।
अस्कर कलेजले गत चैत १४ देखि २५ सम्म पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मका दश सहर समेटेर नेपालका मुख्य सहरहरुमा सिनेमा साक्षरता अभियान सञ्चालन गरेको थियो । अभियानकै समापनका रुपमा यो दुई दिने कार्यशाला गर्न लागिएको अभियानका इभेन्ट म्यानेजर नविन न्यौपानेले बताए ।
नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले यो कार्यशाला सञ्चालन गरिएको समेत उनले जोड दिए । कार्यशालामा नेपाली सिनेमा र विश्वसिनेमाको इतिहासका सैद्धान्तिक पक्षदेखि पटकथा लेखन, छायांकन, अभिनय, चरित्र निर्माणलगायत प्राविधिक विषयसम्बन्धित गतिविधि र जानकारी समेटिने जानकारी अस्कर कलेजका प्राध्यापक रामराजा दहालले बताए ।
उनले भने, “नेपालमा सिनेमा साक्षरता बढाउन गरिएको हाम्रो पहिलो अभियानलाई विभिन्न सहरका विद्यार्थीसँगै शिक्षक, अभिभावक र सर्वसाधारणले सराहना गर्नु भएको थियो । यस्तो कार्यक्रमको काठमाडौंमा झन् धेरै माग भएकोले हामीले कलेजमै यो कार्यशाला राखेका हौँ ।”