पीडीएसयुले गर्यो अल्लु अर्जुनलाई पक्राउ गर्न माग, दियो प्रदर्शन अवरूद्ध गर्ने चेतावनी
काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनीत चलचित्र ‘पुष्पा २’ बिहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको छ । तर, हैदराबादको सन्ध्या थिएटरमा चलचित्रको स्क्रिनिङका क्रममा मानिसहरूको उत्साह एक दुःखद् घटनामा परिणत भयो, जब अत्यधिक भीडका कारण भागाभाग मच्चियो ।
यो घटनामा एक जना महिलाको मृत्यु भएको छ । एक बालकसहित केही व्यक्ति घाईते छन् । यो घटनापछि चलचित्र निर्माताहरूले एक बयान जारी गरेका छन् । तर तेलंगाना राज्यको प्रोग्रेसिभ डेमोक्रेटिक स्टुडेन्ट्स युनियन (पीडीएसयु)ले अल्लु अर्जुनको पक्राउको माग गरेको छ ।
बिहीबार पीडीएसयुले एक प्रेस नोट जारी गर्दै तेलंगानाभर ‘पुष्पा २ः द रूल’ को स्क्रिनिङ रोक्न आग्रह गरेको छ । एक प्रशंसकको दुःखद् मृत्युको लागि अल्लु अर्जुनको गिरफ्तारीको माग गरेको छ । हैदराबादमा फिल्मको प्रिमियरका बेला एक महिलाको दम घटेर मृत्यु भएको थियो भने उनको सानो छोरालाई अस्पताल भर्ना गरिएको छ ।
एक पत्रमा पीडीएसयुले यो घटनाका लागि सिधै अल्लु अर्जुनलाई दोष लगाएको छ ।
पत्रमा भनिएको छ, ‘अल्लु अर्जुनको गैरजिम्मेवार व्यवहारका कारण रेवतीको ज्यान गएको हो । उनको क्रियाकलापले भागाभाग मच्चियो, जसले गर्दा उनको मृत्यु भयो र धेरैजना घाइते भए । प्रशंसकहरूको ठूलो भीड भए पनि उनी स्थिति सम्हाल्न असफल भए, जसले भागाभाग अझै बढायो ।’
पीडीएसयुले अल्लु अर्जुनविरुद्ध मुद्दा दर्ता गरी तुरुन्त पक्राउको माग गरेको छ । मागलाई बेवास्ता गरिए राज्यब्यापी रूपमा चलचित्रको स्क्रिनिङ अवरुद्ध गर्ने चेतावनी समेत दिइएको छ ।