बजार छैन भनेर बाहानाबाजी नगर

नेपाली सिनेमाको बजार नै छैन भन्ने निर्माता र निर्देशकको निष्कर्ष लगातार बक्सअफिस कलेक्सनले गलत प्रमाणित गरिदिएको छ । हिन्दी सिनेमाले त पहिला नै नेपाली बजार सानो छैन भनेर प्रमाणित गरेको थियो । नेपाली सिनेमाले पनि यो त्यही प्रमाणित गरिदिएको छ ।

‘छक्का पञ्जा’ र ‘कबड्डी’ले २० करोडमाथि ग्रसकलेक्सन गर्दा वर्षको एकपटक अथवा दसैँमा मात्रै नेपाली सिनेमा हेर्ने हो भन्ने टिप्पणी हुन्थ्यो । ‘छक्का पञ्जा’ र ‘कबड्डी’ बाहेकले ठूलो आंकडामा कलेक्सन गर्दैनन् । मेकरहरू ‘छक्का पञ्जा’ र ‘कबड्डी’ बाहेकका चलचित्रको प्रतिक्षा दर्शकमा छैन भन्दै आएका थिए ।

तर, यो वर्षका चलचित्रले मेकरको यो दाबी गलत सावित गरिदिएका छन् । ‘छक्का पञ्जा’, ‘१२ गाउँ’ र ‘पूर्ण बहादुरको सारङ्गी’ले ठूलो आंकडा कलेक्सन गरे । निर्माताले दाबी गरेको सही हो भने ‘ह्रस्व दीर्घ’ले १० करोडको आंकडा पार गरिसकेको छ ।

अझै कति चलचित्रले यो वर्ष व्यापारिक सफलता प्राप्त गर्ने हुन्, त्यो अगामी चार महिनाले देखाउने नै छन् । अहिलेसम्मको व्यापारिक सफलताले वर्षमा एक/दुईवटा चलचित्र मात्रै चलचित्र चल्छन् भन्ने विश्वास भत्काएको छ । ब्रान्ड बनिसकेका चलचित्र मात्रै चल्छन् भन्ने मान्यता पनि भत्किसकेको छ ।

राम्रा र दर्शकको टेस्टअनुसारको चलचित्र बने एउटा हैन वर्षमा दर्जन बढी चलचित्रले राम्रो व्यापार गर्छन् भन्ने प्रमाणित भइसकेको छ । रातबिहान ‘पूर्ण बहादुरको सारङ्गी’ चलि नसक्दै त्यस्तै अवस्था ‘पुष्पा–२’मा देखियो । यो अनपेक्षित थिएन । यसले बजार नभएको होइन, बजार छैन भन्ने बाहानाबाजी मात्रै भएको प्रष्ट भइसकेको छ ।

आफ्नो कमजोरी ढाक्न बाहाना खोज्ने होइन राम्रो चलचित्र बनाउन निर्माता र निर्देशक केन्द्रित हुनुपर्यो । विदेशमा होइन नेपालमा मात्रै चले पनि पर्याप्त कमाउने देखिइसकेको छ ।

नेपाली बजारबाटै नेपाली चलचित्रले ५० करोड कलेक्सन गर्न सक्छन् भने कसरी बजार छैन, बजार सानो छ, नेपाली सिनेमामा दर्शक नै छैनन् भनेर भन्ने ? नेपालबाहिर ओभरसिजबाट पनि ठूलो परिमाणमा पैसा आउने सत्यलाई भुल्न हुँदैन ।

बजार नभएको होइन, बजारले चाहे अनुसारको चलचित्र नभएको हो । दर्शकले खोजेजस्तो चलचित्र नबनेको हो । अथवा बजारलाई आफू अनुकूल बनाउन निर्माता र निर्देशकले नसकेको हो । अब बजार छैन भन्ने सुविधा छैन । जबरस्त राम्रो चलचित्र बनाउनुको विकल्प छैन ।