शोभित बस्नेतको निर्देशनमा ‘पीआर’ निर्माण घोषणा, अष्ट्रेलियामा छायांकन हुने
काठमाडौं । सलोन सलिना फिल्मस् ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पीआर’को औपचारिक घोषणा गरिएको छ । आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको यो सिनेमाको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।
निर्देशक बस्नेतका अनुसार चलचित्रका लागि हाल अष्ट्रेलियाका विभिन्न स्थानमा कलाकार छनोट प्रक्रिया चलिरहेको छ । “फिल्मका सम्पूर्ण कलाकार र प्राविधिकहरू अष्ट्रेलियाबाटै चयन गरिनेछन् । आगामी अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङ सुरु गर्ने योजनामा छौं,” उनले भने ।
अडिसन एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिङ रकडेल तथा प्रिज्मस् एजुकेसन एन भिसा सर्भिसको विशेष सहयोगमा भइरहेको छ ।
चलचित्रको निर्माणमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता रहेका छन् ।
चलचित्रको प्रोडक्सन हेड राजजंग क्षेत्री छन् भने संगीत मानस राजको रहनेछ । चलचित्रको कथा शोभित बस्नेतले लेखेका हुन् भने पटकथा र संवाद गणेश बुढाथोकीले तयार गरेका छन् ।
चलचित्र ‘पीआर’ ले विदेशमा रहेका नेपालीहरूको सपना, संघर्ष, र संवेदनालाई पर्दामा उतार्ने लक्ष्य लिएको निर्माण समूहले जनाएको छ ।