प्रदीपको टिप्पणी– नेपाली चलचित्र क्षेत्र ‘किराना पसल’ जस्तो, शो मा आरक्षण आवश्यक
काठमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली चलचित्र क्षेत्र ‘किराना पसल’ शैलीमा चलेको टिप्पणी गरेका छन् । ‘कर्णाली अन्तर्राष्ट्रिय महोत्सव’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदीपले व्यापारको दृष्टिकोणबाट चलचित्रलाई लिन नसकेको बताए ।
“जुन दिन चलचित्रलाई व्यापारको दृष्टिकोणबाट हेरिन्छ, त्यो दिन धेरै कुरा परिवर्तन हुन्छ । अहिलेसम्म पारिवारिक व्यापार भइरहेको छ । किराना पसल थापेजस्तो भइरहेको छ,” उनले भने, “१० बजेसम्म बुवा पसलमा बस्ने, आमा पूजापाठ गर्ने । १० बजेपछि बुवा खाना खाएर सुत्न जाने, आमा पसलमा बस्ने । स्कुलबाट फर्किएपछि बच्चाबच्ची पसलमा बस्ने । आमा खाना पकाउने जाने जस्तो भइरहेको छ ।”
चलचित्र क्षेत्र व्यवसायिक हुन नसकेको उनको गुनासो छ । चलचित्रको प्रभाव र महत्वलाई बुझ्न नसक्दा नेपाली सिनेमा उद्योग फस्टाउन नसकेको प्रदीपको गुनासो छ ।
“आमा निर्देशक, बुवा निर्माता । छोराछोरी नायक–नायिका,” उनले भने ।
चलचित्र क्षेत्रको विकासका लागि ठूला व्यापारिक घरानाको प्रवेश हुनुपर्ने उनको धारणा छ । “चलचित्र क्षेत्रमा कर्पोरेट व्यापार भयो भने लगानी गर्नेले पनि फाइदा र घाटा हेरेर लगानी गर्छ । फाइदा छ भने गर्छ नत्र गर्दैन,” उनले भने ।
प्रदीपले हलमा देखिएको शो बाँडफाँटको विषयमा पनि आफ्नो धारणा राखे । “शुक्रबार र शनिबार भए पनि नेपाली चलचित्रलाई ३० देखि ३५ प्रतिशतको शो आरक्षण दिने हो भने समस्या हुँदैन । एउटा पर्दा हुनेले एक दिनमा एक शो अनिवार्य दिनै पर्छ,” उनले अगाडि थपे, “२÷३ वटा पर्दा हुनेले त्यही अनुसार शोज दिन्छ । यस्तो भयो भने शोज वितरणको विवाद हुन्छ जस्तो लाग्दैन ।”
नेपाली चलचित्र उद्योगमा प्रदीप स्पष्ट वक्ता हुन् । स्पष्ट बोल्दा उनी बेलाबेलामा विवादमा आउने गरेका छन् । शो बाँडफाँटका विषयमा बोल्दा उनी ‘प्रकाश’ र ‘प्रेम गीत–३’ प्रदर्शनका बेलामा उनी चर्को विवादमा परेका थिए ।