karsang
Close Me

दिनेश डिसी भन्छन्- वैशाख १ बाट रियल टाइम बक्स अफिस रिपोर्ट आउँछ

काठमाडौं ।  चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले कर नतिर्ने हलहरूलाई करको दायरा र नियममा ल्याएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पाँच वर्षदेखि करको दायरामा नआएका २१ वटा सिनेमा हलमध्ये प्रमुख ६ वटा हलहरूमा र प्रशासनको ताल्चा लगाएपछि सम्पूर्ण सिनेमा हलहरू करको दायरा र नियममा आएको उनको दाबी छ ।

उनले भने, “सातदेखि १० दिनभित्रमा स्टुडियोको टेन्डर खोल्दै छौँ । यो पहिलादेखि रोकिएको थियो । बैशाख एक गतेदेखि रियल टाइम बक्स अफिस लाग्छ । यही बीचमा पछिल्लो दिन २१ वटा सिनेमा हलहरूलाई कानुनको दायरामा ल्याउने प्रयास जारी छ ।”

यसैगरि, सोही कार्यक्रममा अध्यक्ष डिसीले वैशाख एकबाट रियल टाइम बक्स अफिस सिस्टम लागु हुने दाबी गरेका छन् । यसले चलचित्र क्षेत्रलाई व्यवस्थित गर्न मद्दत पुर्‍याउने डिसीको विश्वास छ ।

यसअघि, बोर्डले बक्स अफिस सिस्टम लागु गरेर कुन चलचित्रले कति व्यापार गर्यो भनेर सार्वजनिक गर्दै आएको थियो । तर, चलचित्र निर्माताहरुले आफ्नो सिनेमाको व्यापार सार्वजनिक गरिदिएको भन्दै गुनासो गरेपछि भुवन केसीले बक्स अफिस रिपोर्ट सार्वजनिक गर्न रोकिदिए ।

चलचित्रको व्यापारलाई पारदर्शी बनाउन भन्दै बोर्डमा रियल टाइम बक्स अफिस सिस्टम सञ्चालनमा थियो । बोर्डले व्यापारको आँकडा सार्वजनिक गर्न छाडेपछि चलचित्र निर्माण टिमले दर्शकलाई प्रभावित पार्न आफूखुसी ग्रस कलेक्सन यति भन्दै सार्वजनिक गरिरहेका छन् ।

कार्यक्रममा डिसीले नेपाल अविकसित नभएर अव्यवस्थित देश भएको उल्लेख गर्दै व्यवस्थापनका लागि सबैले योगदान दिनुपर्ने बताए । उनले चलचित्र क्षेत्रमा देखिएका विविध समस्या समाधान गर्न एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा अभिनेता प्रदिप खड्का, अभिनेत्री सुरक्षा पन्त, अभिनेता शिव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

गैरकानुनी रूपमा सञ्चालनमा रहेका हललाई कारबाही भयो ?