गायक जि पुनको ‘जय करबाकेली बाबा’ सार्वजनिक

काठमाडौं । गायक जि पुन (जीतबहादुर पुर्जा पुन)को स्वर, संगीत र एरेन्जमा रहेको सांगीतिक सिर्जना ‘जय करबाकेली बाबा’ सार्वजनिक भएको छ । यस गीतमा चीनबहादुर पुन र राधा पुनले शब्द दिएका छन् भने बबिता पाख्रिन र दीपा तामाङले सहायक स्वर दिएका छन्। गीतमा दीका गुरुङले मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन् ।

गीतको भिडियो जि पुन र देव दोर्जे लामाको निर्देशनमा तयार गरिएको हो । भिडियोमा विवेक गर्बुजा पुन, प्रितम पुर्जा पुन, सोनी पाइजा पुन र खिम माया पाइजा पुनको अभिनय छ । म्याग्दीको काफल डाँडामा छायांकन गरिएको यस गीतले पुन समुदायको सांस्कृतिक विविधता उजागर गरेको छ ।

भिडियोमा राजेन्द्र गुरुको कोरियोग्राफी, सबिन शेर्पाको सहायक निर्देशन, चीनबहादुर पुनको कथा र कन्सेप्ट, रेनिश फागोको कलर ग्रेडिङ, सीता तामाङको मेकअप र सुरज लामाको सम्पादन, छायांकन तथा ड्रोन अपरेसन रहेको छ । पोस्ट प्रोडक्सन जीएस प्रोडक्सनमार्फत गरिएको भिडियो जि पुन अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक जि पुनले पुन समुदायका भाषिक र सांस्कृतिक पक्षलाई उजागर गर्न आगामी दिनमा थप भिडियो निर्माण गर्ने योजना रहेको बताएका छन् । ‘जय करबाकेली बाबा’ले सांगीतिक क्षेत्रमा पुन समुदायको पहिचानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।