चलचित्र उद्योगकै महंगो कलाकार बने केदार घिमिरे, एक्लै सिनेमा धान्नेमा भने निर्मातालाई नै शंका

काठमाडौं । हास्य कलाकार केदार घिमिरे नेपाली चलचित्र उद्योगकै महंगा कलाकार भएका छन् । उनले अनमोल केसीले भन्दा पनि महंगो पारिश्रमिक लिने गरेका छन् ।

‘छक्का पञ्जा’ सिरिजमा मात्रै लामो समय काम गरेपछि अरु ब्यानरका चलचित्रमा पनि काम गर्न थालेका उनले मोटो पारिश्रमिक लिने गरेका छन् । उनले प्रतिचलचित्र ६० लाख रुपैयाँ पारिश्रमिक लिने गरेको स्रोतले बताएको छ ।

५० लाखमा पारिश्रमिक दिन्छुभन्दा पनि उनले नमान्ने गरेको निर्माताहरूले बताएका छन् । “हामीले ६० लाख पारिश्रमिक दिएर उहाँलाई हाम्रो चलचित्रमा अनुबन्ध गराएका हौँ,” आफ्नो चलचित्रमा केदारलाई अनुबन्ध गराएका एक निर्माताले भने, “५० लाखमा काम गरौँ भन्दा पनि उहाँले मान्नुभएन ।”

केदारले पछिल्लो केही समययता भटाभट चलचित्र साइन गर्दै आएका छन् । हालसम्म अनमोल केसीले सबैभन्दा धेरै ५० लाख पारिश्रमिक लिँदा उनी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता थिए । उनलाई उछिन्दै केदार सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बनेका हुन् ।

केदार ‘छक्का पञ्जा’ सिरिजमा सहायक भूमिकामा काम गर्दै आएका कलाकार हुन् । ‘छ माया छपक्कै’मा पनि उनी सहायक भूमिकामै थिए ।

“कदारजी हास्य कलाकारमध्ये सबैभन्दा राम्रो क्रेज भएको कलाकार हो भन्नेमा शंका छैन । तर उहाँ सहायक भूमिकामा मात्रै देखिँदै आएको कालकार हो,” उनलाई आफ्नो चलचित्रमा लिएर काम गरिरहेका एक निमार्ताले भने, “तर, उहाँ एक्लैले चलचित्र धान्नु हुन्छ भन्नेमा शंका छ । तर बजारमा उहाँको क्रेज राम्रो रहेकाले उहाँलाई लिएका हौँ ।”

केदारसँगै नाम चलेको कलाकार पनि लाइनअपमा नभए सिनेमा चलाउन कठिन हुने ती निर्माताको भनाइ छ ।

केदार अहिले ‘जेरी अन टप’को छायांनमा छन् । ‘माइतीघर’ साइन गरिसकेका छन् । ‘कांगारु’मा पनि उनले काम गर्नेछन् । ‘माग्नेराजा’को मुख्य भूमिकामा नै केदार छन् । ‘परालको आगो’ टिमले पनि उनलाई अफर गरिरहेको तर पारिश्रमिकमा कुरा अड्किएको स्रोतले बताएको छ ।

चलचित्र उद्योगकै हाइएस्ट पारिश्रमिक डिमान्ड पूरा गरेर निर्माताहरू केदारलाई आफ्नो चलचित्रमा लिइरहेका छन् । तर, उनका चलचित्रले कस्तो नतिजा दिनेछन्, त्यो भने हेर्न बाँकी नै छ ।