हजार करोडको छेउमा अल्लू अर्जुनको ‘पुष्पा २’
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुन अभिनीत चलचित्र ‘पुष्पा २’ ले बक्स अफिसमा नयाँ इतिहास रच्दै विश्वभर शानदार कमाई गरिरहेको छ।
बिहीबारबाट रिलिज भएको यो चलचित्रले विश्वभरबाट करिब हजार करोड कलेक्सन गरेको हो ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार चलचित्रले भारतीय बक्स अफिसमा पाँच दिनमै ५९३ करोड भारू कमाई गरेको छ भने विश्वव्यापी रूपमा यसको कमाई ९०० करोड भारू पुगेको छ ।
चार सय करोडको बजेटमा बनेको ‘पुष्पा २’ ले पहिलो दिन भारतीय सिनेमाको इतिहासमा सबैभन्दा ठूलो ओपनिङको रेकर्ड तोड्यो, जुन यसअघि एसएस राजामौलीको आरआरआरसँग थियो । यस्तै, ‘पुष्पा २’ले आफ्नो हिन्दी डब संस्करणमा पनि धेरै रेकर्ड तोडेको छ । जसमा शाहरुख खानका जवान र पठान छन् ।
‘पुष्पा २’ तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको छ । सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशनमा बनेको यो सिनेमामा अल्लु अर्जुन फेरि पुष्पराजको भूमिकामा देखिएका छन् । रश्मिका मन्डन्ना पनि श्रीवल्लीको अवतारमा देखिएकी छिन् ।
अल्लू अर्जुन र रश्मिका बाहेक यसमा चलचित्रमा फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, र सुनीलले पनि अभिनय गरेका छन् । नवीन येर्नेनी र रविशंकर यममाञ्चिली यसका निर्माता हुन् ।
एक्सन, क्राइम र ड्रामा जनरामा आधारित ‘पुष्पा २’को लोभलाग्दो प्रदर्शनले दर्शक तथा समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यो सिनेमाले विश्वव्यापी रूपमा बनाएका नयाँ रेकर्डहरू यस वर्षको सबैभन्दा ठूलो सफलताको रूपमा हेरिँदैछ ।