प्रदीप खड्काको कुरालाई हल्का नठान, यसको गाम्भीर्यता बुझ्ने कोसिस गर

नेपाली चलचित्र क्षेत्र एउटा उद्योग भइसकेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ले गरेको व्यापारले यसलाई पुष्टि गर्छ । यसलाई थप ठूलो उद्योग बनाउन जरुरी छ । ठूलो उद्योग बनाउन चलचित्र नै राम्रा बन्नुपर्छ । राम्रा चलचित्र त्यति बेला बन्छन्, जति बेला चलचित्र क्षेत्र पूर्णरुपमा व्यवसायिक हुन्छ ।

अहिले नेपाली चलचित्र क्षेत्र पूर्ण व्यवसायिक छ अथवा छैन यो बहसको विषय हो । तर स्वयं चलचित्रकर्मीहरू नै नेपाली चलचित्र उद्योगमा पूर्ण व्यवसायिकता नरहेको स्वीकार गर्छन् । त्यसको कारण पनि चलचित्रकर्मी नै भएको उनीहरू बताउँछन् ।

केही दिनअगाडि मात्रै अभिनेता प्रदीप खड्काले उठाएको विषय निकै गम्भीर थियो । झट्ट सुन्दा उनको कुरा छुच्चो लागे पनि त्यसको गहिराइमा पुगेर बुझ्न र मनन गर्न आवश्यक छ ।

प्रदीपले भनेका थिए, “जुन दिन चलचित्रलाई व्यापारको दृष्टिकोणबाट हेरिन्छ, त्यो दिन धेरै कुरा परिवर्तन हुन्छ । अहिलेसम्म पारिवारिक व्यापार भइरहेको छ । किराना पसल थापेजस्तो भइरहेको छ । १० बजेसम्म बुवा पसलमा बस्ने, आमा पूजापाठ गर्ने । १० बजेपछि बुवा खाना खाएर सुत्न जाने, आमा पसलमा बस्ने । स्कुलबाट फर्किएपछि बच्चाबच्ची पसलमा बस्ने । आमा खाना पकाउने जाने जस्तो भइरहेको छ ।”

चलचित्र कस्तो क्षेत्र हो भन्ने यथार्थ र यसको गाम्भीर्यतालाई बुझ्न नसक्नु नै अहिलेको समस्या भएको प्रदीपले बताएका थिए ।

उनले टिप्पणी गरेका थिए, “आमा निर्देशक, बुवा निर्माता । छोराछोरी नायक–नायिका । अनि कसरी हुन्छ नेपाली चलचित्र उद्योग कर्पोरेट । चलचित्र क्षेत्रमा कर्पोरेट व्यापार भयो भने लगानी गर्नेले पनि फाइदा र घाटा हेरेर लगानी गर्छ । फाइदा छ भने गर्छ नत्र गर्दैन ।”

प्रदीपले संकेत गरेको बुवाले लगानी गरेर छोरा वा छोरीलाई हिरो/हिरोइन बनाउने, श्रीमानले लगानी गरेर श्रीमतीलाई हिरोइन बनाउनेतर्फ हो । निर्देशक र निर्माताले आफ्नो गर्लफ्रेन्डलाई हिरोइन बनाइरहेको तथ्यलाई उनले उजागर गरिदिएका हुन् । जुन नेपाली चलचित्र उद्योगमा पहिदा पनि थियो । अहिले पनि छ ।

क्षमतावान भए जसले जो सुकैलाई हिरो वा हिरोइन बनाए पनि त्यो आलोचनाको विषय होइन तर समस्या रहर पूरा गर्नकै लागि हिरो/हिरोइन बन्ने र बनाउने गलत परम्पारमा हो ।

प्रदीपले भनेजस्तो यो गतल परम्पाराले कसैलाई फाइदा गर्दैन । यसले निर्माताको पैसा त डुब्छ नै निर्देशक, लेखकलगायत सम्पूर्ण क्रू मेम्बरकै समय खेर जान्छ । दर्शकमा नेपाली चलचित्रप्रति नै नकारात्मक भावना विकास गर्न मद्धत गर्छ ।

त्यसैले प्रदीपले उठाएको विषय गम्भीर हो । यो विषयको गाम्भीर्यतालाई बुझ्न जरुरी छ । यसलाई सामान्य सम्झिएर अगाडि बढ्ने हो भने कोही व्यक्ति विशेषको रहर त पूरा होला । तर, समग्र चलचित्र उद्योग भने अगाडि बढ्दैन, पछि धकेलिन्छ । त्यसैले सरोकारवाला व्यक्तिले यसबारे गम्भीर भएर सोच्नु आवश्यक छ ।