माल्टामा प्रदर्शन हुँदै जितु र नीतिको ‘ज्वाइँ साब’
काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’ युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ । नेपालमा गत दशैँको समयमा प्रदर्शन भई दर्शकहरूको मन जित्न सफल यो सिनेमा यही डिसेम्बर २१ (पुस ६ गते शनिवार) माल्टाको ग्यालेरिया सिनेमा हलमा रिलिज हुने भएको छ ।
सिनेमा हेर्नका लागि प्रति व्यक्ति टिकट दर ९.९९ युरो निर्धारण गरिएको छ भने तीन जनाको समूहमा आउने दर्शकहरूले विशेष छुट पाउने जानकारी मग्वार्ट प्रोडक्सनका संयोजक गणेश लामिछानेले दिएका छन् ।
जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको यो चलचित्रको माल्टामा प्रदर्शन व्यवस्थापन मग्वार्ट प्रोडक्सनले गरेको हो । नेपाली भाषा, संस्कृति र चलचित्रलाई माया र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको मग्वार्ट प्रोडक्सनले माल्टामा विभिन्न नेपाली चलचित्रहरू प्रदर्शन गर्दै आएको छ । यसले प्रवासी नेपाली दर्शकलाई मनोरञ्जनका साथै आफ्नो संस्कृति नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्दै आएको छ ।
बसन्त निरौलाले निर्देशन गरेको यस चलचित्रमा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
माल्टाका नेपाली समुदायले ‘ज्वाइँ साब’लाई राम्रो प्रतिक्रिया दिने विश्वास गरिएसँगै यस चलचित्रको प्रदर्शनले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।