यो ज्यान ‘बलिदान’का लागि (फोटोफिचर)

काठमाडौं । सन्तोष सेनको निर्देशन तथा निर्माणमा तयार भइरहेको चलचित्र ‘बलिदान’ को छायाङ्कन यतिबेला मोरङको कानेपोखरीमा धमाधम भइरहेको छ ।

चलचित्रको छायाङ्कनअन्तिम चरणमा प्रवेश गरेको छ भने यसका लागि भव्य सेट निर्माण गरिएको छ । निर्माण टिमले मेहनतलाई उच्चतम स्तरमा पुर्‍याइरहेको उल्लेख गरेको छ ।

निर्देशक सेनले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका तस्बिरहरूले चलचित्र निर्माण टिमले चिसो मौसमका बाबजुद दिनरात नभनी मेहनत गरिरहेको प्रस्ट देखिन्छ ।

उनले लेखेका छन्, “घना जंगलको केन्द्रमा रहेको १० बिघा जमिनमा लगातार १५ दिनसम्म रातभर छायाङ्कन भइरहेको छ । पर्दा पछाडि रहेका हिरोहरूले यो चिसो मौसममा दर्शकका लागि ‘बलिदानी’ गरिरहेका छन् ।”

यस्तै, उनले अर्को पोस्टमा लेखेका छन्- “चिसो चिसो मौसममा तातो तातो बलिदानको यात्रा, हाम्रो योद्धाको भरपुर मेहनत छ र त अद्भुत आशा छ ।”

चलचित्रको छायाङ्कनको जिम्मेवारी महेश पौडेलले लिएका छन् । यसअघि चलचित्रका छायाकार सञ्जय लामाले छायाङ्कनको नेतृत्व गरेका थिए ।

‘बलिदान’ ले नेपाली समाजको यथार्थ चित्रणसँगै अत्याधुनिक प्रविधि र भव्य दृश्यहरूको संयोजनमार्फत दर्शकहरूलाई आकर्षित गर्ने लक्ष्य लिएको छ । आसुसेन फिल्म्स प्रा. लि. को प्रस्तुति रहेको यो चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा रहेका छन् ।

चलचित्रको छायाङ्कन सकिएपछि रिलिज मिति टिजरसहित घोषणा गरिने निर्देशक सेनले जानकारी दिएका छन् ।