माेटो पारिश्रमिक तिर्दैमा र स्टारकास्ट थुपार्दैमा चलचित्र चल्दैन

काठमाडौं । नेपाली चलचित्र उद्योगमा एउटा ठूलो भ्रम छ । हुन त धेरै भ्रम छन्, तर त्यसमध्येको एउटा प्रमुख भ्रम स्टार कास्ट पनि हो । स्टारडम भएका भनिएका अभिनेता नलिएसम्म चलचित्र चन्दैन भन्ने गलत संस्कार नै बसिकेको छ ।

स्टारडम नेपाली कलाकारमा छ वा छैन त्यो बहसको विषय होला । किन कि स्टारडम छ भनेर ढुक्कैले भन्न सकिने अवस्था छैन । यो सिनेमाको बक्सअफिसले पटकपटक प्रमाणित गरिसकेको छ ।

नेपाली चलचित्रका निर्माता र निर्देशकमा रहेको गलत विश्वास के हो भने मोटो पारिश्रमिक लिइरहेका कलाकार नलिएसम्म चलचित्र चलाउन सकिँदैन । मोटो पारिश्रमिक लिइरहेका कलाकार को हुन् ? त्यो सबैलाई थाहै छ ।

५० लाख रुपैयाँ पारिश्रमिक लिइरहेका कलाकारका चलचित्र लगानी उठाउनेभन्दा नउठाउने धेरै छन् । यसले स्टारडम कति छ भन्ने घाम जस्तै छर्लंग छ । तर पनि निर्माताले मोटो पारिश्रमिक दिन लोभ गरेका छैनन् । बरु उल्टै मोटो पारिश्रमिक लिने कलाकारको संख्या बढ्दैछ ।

स्टारडम त्यो हो, जसका चलचित्र जस्तो सुकै हुन्, सुरुका दुई तीन दिन आँखा चिम्लिएर दर्शक हल जान्छन् । चलचित्रले कस्तो विषय उठान गरेको छ, स्टारडम भएको कलाकारको अपोजिटमा को छ, चलचित्रमा क्यारेक्टर लुक्स कस्तो छ भन्नेले केही अर्थ राख्दैन । पहिलो दुई तीन दिन ठूलो संख्यामा दर्शक हलसम्म चलचित्र हेर्न जान्छन् ।

तर, यस्तो अवस्था नेपाली चलचित्र उद्योगमा देखिएको छैन । अनमोल केसीमा त्यो स्टारडम छ भनिन्थ्यो । तर जब उनको चलचित्र ‘छड्के २’ लाग्यो । त्यसपछि उनको स्टारडम छ वा छैन । छ भने कति छ प्रष्ट भयो । कति रहेछ यहाँ भनिरहनै परेन किन भने यसको बिजनेसले आफैँ बताउँछ ।

यति, मात्रै पनि होइन अहिले अर्को प्रवृत्ति देखा परेको छ । त्यो हो एउटै चलचित्रमा ५÷६ जना मोटो पारिश्रमिक लिने कलाकार राख्नु । ३० देखि ५० लाख रुपैयाँ पारिश्रमिक लिने कलाकार ५÷६ जना राख्दा चलचित्रको लगानी अस्वभाविक रुपमा बढ्छ । जति धेरै लगानी हुन्छ त्यति नै लगानी उठ्ने सम्भावना कम हुन्छ ।

अहिले छायांकनमा रहेका केही चलचित्रको लाइनअप हेर्ने हो भने यो प्रष्टै देखिन्छ । जस्तै ‘पिताम्बर’ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘महाभोज’ । भर्खरै घोषणा गरिएको ‘माइतीघर’ । यी त केही उदाहरण मात्रै हुन् । यस्ता थुप्रै चलचित्र छन्, जसले कलाकारलाई पारिश्रमिक बुझाएर लगानी बढाइरहेका छन् ।

कलाकारलाई मोटो रकम बुझाएर मात्र चलचित्र चल्दैन । यसका उदाहरण पनि थुप्रै छन् । नाम चलेका कलाकार नै चलचित्र आधार हैन । कलाकारको उपस्थितिले मात्रै चलचित्र चल्दैन । उनीहरूको बलियो उपस्थितिले चलचित्र चल्ने हो ।

चलचित्र बलियो कथाले चल्छ । मौलिक कथाले चल्छ । अब्बल उपस्थितिले चल्छ । राम्रो र अर्थपूर्ण सिनेमेटोग्राफीले चल्छ । कथालाई बलियो बनाउने र भाव बुझाउने ब्याकग्राउन्ड स्कोरले चल्छ । कथा भन्ने गीतले चल्छ । सिनेमा चल्न गीतले सहयोग गर्छ । दर्शक बाँध्ने कथा र प्रस्तुतिले चल्छ । कथा भन्न सक्ने निर्देशकको भिजनले चल्छ ।

अभिनयले चल्छ । अभिनय कलाकारले गर्ने हो । तर कलाकार माध्यम हुन् । सबै थोक कलाकार होइनन् । कलाकार पर्दामा देखिँदैमा सिनेमा चल्ने होइन । उनीहरू कति सशक्त छन् । कस्तो कथा छ र त्यो कसरी भनिएको छ त्यसले अर्थ राख्न । अर्थात् सिनेमा चल्छ ।

यसको पछिल्लो उदाहरण ‘पूर्ण बहादुरको सारङ्गी’ हो । यसमा नाम चलेका कलाकार खासै कोही थिएनन् । १० लाखभन्दा माथि पारिश्रमिक लिने कलाकार कोही थिएनन् । तर चलचित्र चल्यो । चल्यो मात्रै होइन ऐतिहासिक रुपमा चल्यो । नेपाली चलचित्र उद्योगका सम्पूर्ण रेकर्ड ब्रेक गर्दै चल्यो । नेपाली चलचित्रका थुप्रै स्टारकास्ट चलचित्रलाई पछि पार्यो । ब्रान्ड भ्यालु भएका चलचित्रलाई धेरै पछि पार्यो ।

बक्सअफिसमा रहेको रेकर्डलाई करिब दोब्बरले पछि पार्दे नयाँ रकेर्ड बनायो । सबै चलचित्र एकनासले चल्दैनन्, सत्य हो । सबै राम्रा चलचित्र पनि चल्दैनन, यसलाई नकार्न हुदैन । त्यसैले ‘पूर्ण बहादुरको सारङ्गी’ हरेक सन्दर्भ र अवस्थामा आइडल नहुन सक्छ । सबै स्टारकास्ट बिनाका चलचित्र चल्छन् भन्ने भ्रम पनि पाल्नु हुँदैन । तर, आफ्नो चलचित्रको स्ट्रेन्थ पक्ष के हो निर्माता र निर्देशक यसमा स्पष्ट हुनुपर्छ ।

स्टारकास्टका नाममा मिसकास्ट धेरै भइरहेको यथार्थलाई नजरअन्दाज गर्नु हुँदैन । यो सत्यलाई मात्रै बुझे धेरै हदसम्म सिनेमाको बजेट आफैँ घट्छ । मिसकास्टको जोखिम आफैँ कम हुन्छ । मिसकास्टको जोखिम कम हुनु भनेको राम्रो चलचित्र बन्ने सम्भावना उच्च हुनु हो । लगानी कम हुनु भनेको सिनेमा घाटामा जाने सम्भावना कम हुनु हो ।