पुष्प र आकाशले चलचित्र नखेलेका हुन् कि नपाएका ?
काठमाडौं । पुष्प खड्का र आकाश श्रेष्ठ दुवैले केही वर्ष अघिसम्म धमाधम चलचित्र खेलिरहेका थिए । चकलेटी हिरोको रूपमा चिनिँदै उनीहरू मेकरको रोजाइमा थिए । एकैवर्ष उनीहरूका दुई÷तीनवटा चलचित्र समेत रिलिज भएका थिए । तर, पछिल्लो समय यी दुवै अभिनेता चलचित्रमा देखिएका छैनन् ।
‘अझै पनि’ बाट डेब्यु गरेका पुष्पले ‘दर्पण छायाँ २, मंगलम, दाल भात तरकारी, मारूनी, कृष्ण लीला, तिम्रो मेरो साथ र मनसँग मन’ मा अभिनय गरेका छन् । जसमध्ये ‘मनसँग मन’ उनको पछिल्लो चलचित्र हो, जुन २०७९ सालको माघमा रिलिज भएको थियो । सो वर्ष उनका तीनवटा चलचित्र रिलिज भएका थिए ।
पुष्पले गतवर्ष एउटा चलचित्र ‘सिड्नी ब्लुज’ साइन गरेका थिए, तर अष्ट्रेलिया र नेपालमा खिचिने भनिएको चलचित्रको छायांकन अझैसम्म पनि सुरू हुन सकेको छैन ।
त्यस्तै, आकाश श्रेष्ठको पछिल्लो चलचित्र भने ‘हिँड्दा हिँड्दै’ हो, जुन २०८० को भदौमा रिलिज भएको थियो । गतवर्ष उनको अर्को चलचित्र ‘बगान’ पनि प्रदर्शनमा आएको थियो ।
‘म त तिम्रै हुँ’ बाट डेब्यु गरेका आकाशले यसअघि ‘तिमी सँग, ब्ल्याक, रामकहानी, ड्रिम गर्ल, पोइ पर्यो काले, सम्झना बिर्सना, सम्हालिन्छ कहिले मनमा अभिनय गरेका थिए । आकाशले केही समय अगाडि नयाँ चलचित्रको तयारी हुँदै गरेको बताए पनि उनले साइन गरेको खबर भने आएको छैन ।
चलचित्रमा देखिन नछाडे पनि पुष्प र आकाश म्युजिक भिडियोमा भने निकै व्यस्त देखिन्छन् । उनीहरूका म्युजिक भिडियो बजारमा धमाधम रिलिज भइरहेका छन् । म्युजिक भिडियोमा उनीहरूको लोकप्रियता उच्च देखिन्छ । अहिले पनि पुष्प र आकाश म्युजिक भिडियोका निकै रोजाइका मोडल हुन् ।
दुवैको यात्रा भिडियोमा जस्तो सहज चलचित्रमा भने हुन सकेको देखिँदैन । चलचित्र क्षेत्रमा उपस्थिति कमजोर हुनु, एक-दुई वर्षयता चलचित्र नगर्नुले उनीहरूमाथी एउटा प्रश्न चाहिँ खडा गरेको छ,– अहिले चलचित्र नखेलेका हुन् कि नपाएका हुन् ?
यतिबेला नेपाली चलचित्र उद्योगमा नयाँ पुस्ताका कलाकारहरूको प्रवेशले प्रतिस्पर्धा बढेको छ । पुराना सफल अभिनेता पुष्प र आकाशले पनि अब नयाँ रणनीतिसहित चलचित्रमा फर्किने कि भन्ने दर्शकहरूको चासो छ । उनीहरूलाई चलचित्र निर्माताहरूले कत्तिको विश्वास गर्छन् र उनीहरू नयाँ चलचित्रमा कहिले देखिन्छन् भन्ने प्रतीक्षामा दर्शकहरू छन् ।