पुरा भयो ‘सोल्टिनी’को लाइनअप, को-को कलाकार जोडिए ?

काठमाडौं । पुस १५ बाट छायाङ्कन सुरु हुने चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ ।
अन्तरजातीय प्रेमकथामा आधारित भएर अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको सिनेमामा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहने भएको छ ।
निर्देशक सुवेदीले जानकारी दिएअनुसार चलचित्रमा अभिनेता प्रकाश सपूत, विल्सन विक्रम राई र अभिनेत्री परीक्षा लिम्बुको प्रमुख भूमिका रहनेछ ।
यो सिनेमामा सपूतले ‘भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ‘दिलासा राई’को भूमिका निभाउनेछन् । यी दुई कलाकार पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन् ।
चलचित्रमा थप नाम चलेका कलाकारहरु जोडिएका छन् । अन्य कलाकारहरूमा रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा जोडिएका हुन् । साथै, अडिसनमार्फत छनौट भएकी नव-कलाकार सब्बु गुरुङले पनि प्रमुख भूमिका निभाउनेछिन् । उनले ‘हरियो ढुंगा’, ‘अर्को अर्थ नलागेमा’ जस्ता नाटकहरुमा काम गरिसकेकी छन् ।
भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुने यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध सशक्त सन्देश प्रवाह गर्नेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा चलचित्रको मुख्य आकर्षण रहनेछ ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति रहेको यो चलचित्र नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुँदैछ । चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।
चलचित्रको संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले तयार गर्नेछन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् ।
नेपालमा आरआर फिल्मस् र विदेशमा नेपसिनेले वितरण गर्ने चलचित्र २०८२ सालको असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।
