यी चलचित्र जो आफू मात्रै चलेनन्, धेरैलाई गलत सावित गरिदिए
काठमाडौं । वैशाखदेखि यता यो वर्ष तीनवटा सिनेमाले थुप्रैलाई चकित पारे । धेरैले नपत्याएका चलचित्र जसले नेपाली सिनेमा उद्योगकै ब्रान्डलाई पछि पार्दै बक्सअफिसमा लोभलाग्दो कमाइ गरे । नेपाली सिनेमाका जानकारहरूको अनुमानमाई फेल खुवाउँदै तीनवटा चलचित्र व्यवसायिक रुपमा सफल भए ।
१४ वैशाखमा रिलिज भएको ‘बोक्सीको घर’ले ११ करोड व्यापार गर्छ भनेर धेरैले अनुमान पनि लगाएका थिएनन् । सिनेमा रिलिजको केही अगाडिसम्म पनि हाइप थिएन । जसका कारण दर्शकले मात्रै होइन निर्माणका एक साझेदारले अन्तिम समयमा पैसा फिर्ता लिएको स्रोतले बताएको थियो ।
तर, जब यो चलचित्र हलमा लाग्यो । दर्शक सिनेमा हेर्न हलमा ओइरिए । दर्शक यसरी हलमा पुगे, शो तेब्बरभन्दा धेरै थपियो । बिहान सबेरैदेखि अबेर रातिसम्मका हरेक शो हरेक दिन राताम्य भए ।
स्टारकास्ट नभएको चलचित्रले ११ करोडभन्दा माथि कलेक्सन गर्यो । डेब्यु निर्देशक र डेब्यु निर्माताको चलचित्रले त्यसपछि रिलिज भएको ‘मनसरा’लाई पनि छायामा पारिदियो ।
यो चलचित्रमा लगानी केकी अधिकारीको थियो भने निर्माण पनि उनैले गरेकी थिइन् । सुलक्षण भारतीको कथा लेखन तथा निर्देशन गरेको थियो ।
यो वर्षा सिनेमाका जानकारहरूलाई समेत फ्ल्प खुवाउँदै अनपेक्षित व्यापार गरेको अर्को चलचित्र हो ‘१२ गाउँ’ । विराज भट्टको निर्देशन रहेको चलचित्रले अनपेक्षित व्यापार मात्रै गरेन, ‘छक्का पञ्जा–५’लाई पनि पछि पार्यो । यो चलचित्रले ‘छक्का पाञ्जा–५’ले भन्दा धेरै कलेक्सन गर्यो ।
लेखक तथा सिनेमाका समीक्षकहरूले यो चलचित्रलाई दसैँमा सँगै रिलिज भएका तीन चलचित्रमध्ये सबैभन्दा कमजोर रहेको हुनसक्ने आंकलन गरेका थिए ।
दसैँको फूलपातीको दिन पारेर रिलिज भएको यो चलचित्रले सबै ‘छक्का पञ्जा–५’ले भन्दा धेरै कलेक्सन गर्यो ।
वितरकका अनुसार साढे २६ करोडभन्दा माथि कलेक्सन गरेको दाबी गर्यो । विराज भट्टको यसअघिको चलचित्र ‘साङ्लो’ जस्तै दर्शकले बेवास्था गर्छन् भन्ने धेरैको आंकलनलाई गलत सावित गर्दै ‘छक्का पञ्जा’को ब्रान्डलाई समेत यसले पछि पारिदियो ।
हरेक दिन शो बढाउँदै गएको ‘१२ गाउँ’ हप्तौँसम्म राताम्य भयो । बिहान सबेरैदेखि अबेर रातिसम्म यो चलचित्र हेर्ने दर्शकको भीड लाग्यो ।
दसैँमा सोसल ड्रामा मात्रै चल्छ भन्ने अनुमानलाई पनि गलत सावित गर्दै यो एक्सन ड्रामाले बुढाबुढीदेखि किशोरकिशोरीलाई पनि हलसम्म तान्यो ।
तीनै पुस्ताका दर्शकले मन पराउँदा रिलिज हुँदासम्म हाइप नबनाएको सिनेमाले नेपाली बक्सअफिसमा अनपेक्षित कलेक्सन गर्यो ।
अर्को यस्तै चलचित्र हो ‘पूर्ण बहादुरको सारङ्गी’ । रिलिजका दिनसम्म राम्रो हाइप नबनाएको यो चलचित्रले प्रदर्शनको तेस्रो दिनसम्म कुर्नु परेको थियो पिकअप लिन ।
हाइप लिएपछि भने बिहान ४ बजेदेखि मध्येरातको १२ बजेका शोमा समेत दर्शकले खोजेको समय रोजेको सिट पाएनन् । हप्तौँसम्म बिहान सबेरैदेखि मध्यरातिको १२ बजेसम्म यो चलचित्र राताम्य भएर चल्यो ।
स्टारकास्टबिनाको चलचित्र र नाम नचलेका निर्देशकको निर्देशन रहेको चलचित्रले लोभलाग्दो कमाइ गर्दै नेपाली सिनेमा उद्योगका सबै रेकर्ड भत्कायो ।
‘कबड्डी–४’को साढे २३ करोडको रेकर्ड ब्रेक गर्दै नेपाली बक्सअफिसबाटै झण्डै ५० करोड कलेक्सन गर्यो । यो कबड्डीको रेकर्ड ब्रेक गर्दै त्यसको दोब्बरभन्दा धेरै कमाइ हो ।
यो चलचित्रले यति कमाउँछ भन्ने कसैले सोचेको थिएन । स्वयं ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक र निर्माता तथा कलाकारलाई नै विश्वास थिएन ।
‘पूर्ण बहादुरको सारङ्गी’लाई सरोज पौडेलले निर्देशन गरेका थिए भने विजय बराल मुख्य भूमिकामा थिए । यो चलचित्र अहिले पनि हलमा प्रदर्शन भइरहेको छ ।
नेपालीमा एउटा उखान छ ‘नपत्याउँदो खोलाले बगाउँछ । त्यस्तै भयो यो चलचित्रको सन्दर्भमा । यो चलचित्रले बनाएको रेकर्ड भत्काउन अब रिलिज हुने चलचित्रलाई त्यति सहज भने छैन । तर, असम्भव पनि छैन ।
नेपाली चलचित्रको विकास र विस्तारका लागि यो चलचित्रले बनाएको रेकर्ड चाँडै भत्किनु पर्छ । यसैगरी ‘बोक्सीको घर’, ‘१२ गाउँ’ र ‘पूर्ण बहादुरको सारङ्गी’ जसरी अन्य चलचित्र पनि चल्नुपर्छ ।