सुटिङमा जानु कहिले/कहिले दसैँलाई भन्दै रिलिज डेट बुक अहिल्यै ?

काठमाडौं । नेपाली बक्सअफिसमा रिलिज डेट चल्छ कि चलचित्र ? चल्ने त चलचित्र नै हो । तर यहाँ बिदामा आफ्नो चलचित्र लगाउने चाहने निर्माता तथा निर्देशकको होडबाजी हेर्ने हो भने लाग्छ, यहाँ चलचित्र होइन डेट चल्छ । दसैँमा त झन अरु चल्दैन डेट नै चल्छ ।

हालसम्म अशोक शर्मा, प्रदीप भट्टराई, रोहित अधिकारी, विराज विष्ट, भुवन केसी, सुशील पोखरेल, सरोज न्यौपाने, वसन्त निरौलाले दसैँमा चलचित्र रिलिज गर्ने बताएका छन् । अझै कति थपिने हुन्, थाहा छैन ।

यसरी चलचित्रको संख्या हेर्ने हो भने यो दसैँमा चलचित्रको भीड होइन महाभीड लाग्नेछ । जबकी वितरकहरू स्वयं भने दुईवटा भन्दा धेरै चलचित्र रिलिज हुन नहुने बताउँदै आएका छन् । दुईभन्दा बढी चलचित्र रिलिज हुँदा शो नपुग्ने र राम्रो चलचित्रले पनि व्यापार गर्न नसक्ने वितरहरूको तर्क छ ।

तर, निर्माता तथा निर्देशकलाई भने दसैँ नै चाहिएको छ । उनीहरूमा देखिएको दसैँ मोह हेर्दा यस्तो लाग्छ, दसैँमा सिनेमा होइन डेट चल्ने हो । दसैँमा रिलिज गर्न पाए चलचित्र राम्रो बनाउनै पर्दैन जस्तो सुकै बनाए पनि हलमा आए चलिहाल्छ । पैसा कमाइ भइहाल्छ ।

रमाइलो त के छ भने दसैँमा मेरो चलचित्र चल्छ अथवा चलाउने हो भनेर भनेका कसैका चलचित्रको पनि छायांकन सकिएको छैन ।

कति फ्लोरमा जानै बाँकी छ । कति स्क्रिप्टमा छन् । कतिको स्क्रिप्ट तयार भए पनि कलाकारको लाइनअप मिलेको छैन । त्यो भन्दा पनि रोचक कुरा त कतिको कथा नै फाइनल भइसकेको छैन ।

यसले मेकर कति मेहनत गर्छन् चलचित्र निर्माणमा, कति सिरयस छन् भन्ने प्रष्ट पार्छ । पहिला चलचित्र बनाएर तयार पार्ने, त्यसमा के कस्ता कमजोरी छन्, त्यसलाई कसरी कम गर्ने र सकेसम्म आफ्नो चलचित्रमा कसरी खोट लगाउने ठाउँ नछोड्ने भन्नेमा चाहिँ ध्यान छैन । मात्र दसैँमा कसरी चलचित्र लगाउने भन्नेमा केन्द्रित रहेको देखाउँछ । अनि हतारमा लटरपटर काम गर्ने र एक थान चलचित्र रिलिज गर्नेबाहेक अर्को उपलब्धी देखिँदैन । त्यसको परिणाम के हुन्छ, भनिरहनै पर्दैन । पछाडि फर्किएर हेरे पुग्छ । इतिहासका केही पाना पल्टाए मात्रै पुग्छ ।

हातमा चलचित्र आइसकेपछि रिलिज डेटका लागि ध्यान दिनुपर्नेमा कथा नै फाइनल नभई मेरो चलचित्र आउँदो दसैँमा आउँदै छ भनेर प्रचार गर्नेको भीडले चलचित्रलाई बिगार्ने काम गरिरहेको छ ।

रिलिज डेट आइसक्दा पनि चलचित्रको काम नसकिने भएपछि रातारात काम गर्ने नेपाली चलचित्रकर्मीको समस्या नै हो । यो ट्रेन्ड नै बसिसकेको छ । त्यसैले सिनेमाको काम भनेकै लास्ट आवरमा गर्ने हो भन्नेमा मानसिक रूपमा निर्माता र निर्देशक तयार भएको देखिन्छ ।

सेटमै सिनेमाको स्क्रिप्ट लेख्ने, रिलिजको अघिल्लो दिनसम्म सिनेमाको साउन्डको काम गर्ने ट्रेन्ड संस्कारकै रुपमा अगाडि बढिसकेको छ । यसले राम्रो चलचित्र बन्ने सक्भावना हुँदाहुँदै चलचित्र बिग्रिएका थुप्रै उदाहरण छन् । यसलाई हटाउँदै जानुपर्नेमा उल्टै यसले बढावा पाइरहेको छ ।

चलचित्र स्टारकास्ट र डेटले मात्रै चल्दैन । राम्रो कथा र मेकिङले चल्छ भन्ने यथार्थलाई मनन् गर्न आवश्यक छ । स्टारकास्ट र डेट त सहयोगी मात्रै हुन्, समग्रमा चलचित्र नै राम्रो हुनुपर्छ भन्ने वास्तविकताको पछाडि चाहिँ लाग्नुपर्छ ।

हातमा सिनेमाको कथा छैन, कलाकार र निर्देशकको टुंगो छैन । चलचित्र बन्ने हो कि होइन नै ठेगान छैन अनि दसैँको डेट ओगट्ने हतार किन ?

आफूले भन्न लागेको कथामा विश्वास छैन, निर्मातालाई आफ्नो निर्देशकमा भरोसा छैन, मेकिङमा शंका छ भने बेग्लै कुरा होइन आत्मविश्वास छ भने हतार पनि गर्नु पर्दैन । दसैँ नै पनि चाहिँदैन ।

भुल्नै नहुने कुरा चाहिँ के हो भने दसैँमा रिलिज भयो भन्दैमा दर्शक चलचित्र हेर्न आउँदैनन् । दर्शकले हेर्ने त राम्रो कथा हो । राम्रो चलचित्र हो । दर्शक राम्रो अभिनय र मेकिङ हेर्न हलसम्म पैसा र समय खचिएर आउने हो । पुस माघको ठिहीमा पनि त चलचित्र चलेकै छन् । होइन भने गत वर्षको जाडो हेरे पुग्छ, त्यसअघि पुग्नै पर्दैन ।

‘एनिमल’ हिन्दी चलचित्र थियो भन्ने तर्क होला, वास्तवमा त्यो तर्क होइन ‘कू’ तर्क हो । राम्रो भए हिन्दीभन्दा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने चलचित्र त अहिले पनि हलमै छ ।

अर्को तथ्य, दसैँमा रिलिज भएका सबै चलचित्र व्यापारिक रुपमा सफल नै भएका छन् र ? दसैँमा रिलिज नभएका सबै चलचित्र व्यवसायिक रूपमा असफल नै भएका छन् र ?

दसैँ बाहेकको डेटमा चलेका चलचित्र पनि त सुपरहिट भएका छन् । बक्सअफिसमा अरुलाई उछिने कै छन् । त्यसैले पहिला चलचित्र तयार हुनुपर्छ । राम्रो चलचित्र बनेको छ भने दसैँ नै कुर्नुु पर्दैन । दसैँ पाइएन भनेर आत्तिनु पर्दैन । दर्शकले डेट होइन चलचित्र हेर्ने हो ।