प्रदर्शन मिति घोषणा गरेको २४ घण्टा अगाडि आएर सर्यो ‘झिल्को’
काठमाडौं । चलचित्र ‘झिल्को’ को प्रदर्शन मिति हेरफेर गरिएको छ । निर्देशक यादवकुमार भट्टराई निर्देशनमा निर्माण भएको यो चलचित्रको यसअघि फर्स्टलुक सार्वजनिक गर्दै रिलिज मिति पुस ५ अर्थात् भोली शुक्रबारलाई तय गरिएको थियो ।
‘झिल्को’को निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको २४ घण्टा अगाडि आएर हेरफेर गरेको हो । चलचित्रको प्रदर्शन मिति परिवर्तन गरी अब वैशाख १९ गतेलाई तय गरिएको जानकारी गराइएको छ ।
निर्देशक भट्टराईका अनुसार सिनेमाको केही दृश्यको छायांकन बाँकी रहेकोमा हालै सम्पन्न भएको छ । चलचित्रको बाँकी रहेको उक्त दृष्यको छायांकन गत आइतबार सम्पन्न भएको निर्देशक भट्टराईले बताए ।
‘फिल्मको ९० प्रतिशत दृष्य छायांकन गत वर्ष चैतमा सकिएको थियो । केही दृष्य फरक अन्तर राखेर हालै खिचिएको निर्देशक भट्टराईले बताए । “पोस्ट प्रोडक्सनमा समय लगाएर राम्रो काम गर्ने उद्देश्यले प्रदर्शन मिति परिवर्तन गरेका हौं,” भट्टराईले भने ।
उनले यसअघि ‘झोला’ र ‘भोर’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । सती प्रथाको कथामा ‘झोला‘ फिल्म निर्माण गरेका भट्टराईले त्यसपछि सन् २०१९ मा दाइजो विरोधी फिल्म ‘भोर‘ बनाएका थिए। ‘झिल्को’ उनको तेस्रो निर्देशकीय सिनेमा हो ।
चलचित्रमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल प्रमुख कलाकारका रूपमा रहेका छन् ।
‘झिल्को’ मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे बनेको निर्माण टिमले जानकारी दिएको छ ।
‘बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुर्व्यसनी डिजिटल दुर्व्यसनी हो । यही संवेदनशील विषय झिल्कोको कथा हो,‘ निर्देशक भट्टराईले भने, ‘यो एक व्यवसायिक र बाल मनोविज्ञानमा आधारित पारिवारिक चलचित्र हो ।
डिया फर कल्चर प्रालिको प्रस्तुतिमा बनेको ‘झिल्को‘ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन् । निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् ।
निमेश श्रेष्ठको सम्पादन रहने चलचित्रमा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ ।