‘पूर्ण बहादुरको सारङ्गी’ले मनायो प्रदर्शनको ५१औं दिन, बनायो अर्को नयाँ रेकर्ड, कति गर्यो कमाई ?
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आज प्रदर्शनको ५१औं दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्र आज प्रदर्शनको ५१औँ दिन हो ।
वितरक मनोज राठीका अनुसार ‘पूर्ण बहादुरको सारङ्गी’ले ३८ वटा सिनेमा हलमा ५१ दिन मनाउन लागेको हो । सबैभन्दा धेरै हलमा ५१ औं दिन मनाउने चलचित्रको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ ।
बक्सअफिसमा रेकर्ड ब्रेकिङ ग्रसकलेक्सन गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्मका नेपाली चलचित्रका सबै रेकर्ड तोडेको छ । नेपाली बक्सअफिसबाट मात्रै यो चलचित्रले ६ हप्तामा ४९ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
५१ दिनको कलेक्सन भने वितरक र निर्माणपक्षले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘कबड्डी–४’ले साढे २३ करोड कलेक्सन गरेर बनाएको रेकर्ड यो चलचित्रले ब्रेक गर्दै हालसम्मको सर्वाधिक ग्रसकलेक्सन गर्ने चलचित्र बनेको हो ।
सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । विजयसँगै मुकुन भुसाल, बुद्धि तामाङ, प्रकाश सपूत, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ ।
महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता छन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।