६ महिना पछि ‘कार्साङ’ मार्फत दर्शक भेट्न आउँदै दयाहाङ
काठमाडौं । नेपाली सिने क्षेत्रमा व्यस्त नाम हो दयाहाङ राई, जसलाई ‘धेरै सिनेमा खेल्ने’ अभिनेता भनेर आरोप लाग्दै आएको छ ।
दयाहाङका महिना मात्रै होइन, एकै दिन दुईवटा चलचित्र पनि रिलिज भए । त्यो पनि एक पटक होइन दुई-दुई पटक । हरेक महिनाजसो उनका सिनेमा प्रदर्शनमा आउँदा दर्शकलाई उनी अभिनीत कुन सिनेमा हेरौँ कुन नहेरौँ हुन्छ । तर, यसपटक भने उनी ६ महिनाको ग्यापपछि नयाँ चलचित्र ‘कार्साङ’ मार्फत दर्शकमाझ आउने तयारीमा छन् ।
दयाहाङको पछिल्लो चलचित्र ‘घर ज्वाईं’ असार २८ मा रिलिज भएको थियो, जुन व्यापारिक रूपमा सफल सावित भएको थियो । अब, पुस २६ गते ‘कार्साङ’ प्रदर्शनमा आउने तयारीमा छ ।
पुस २६ गते उनी अभिनीत नयाँ सिनेमा हलमा आउँदा उनको अघिल्लो सिनेमा रिलिज भएको करिब ६ महिना हुनेछ । अर्थात् ६ महिनापछि दयाहाङ आफ्ना दर्शकमाझ आउँदै छन् ।
यम शेर्पाको डेब्यु निर्देशनमा बनेको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक झल्कोलाई प्रस्तुत गर्नेछ । टिजरले भुइँ मान्छेको कथा र उनीहरूको जीवन संघर्षलाई प्रभावकारी रूपमा देखाइसकेको छ ।
चलचित्रमा दयाहाङसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह-निर्मातामा गोविन्द बोहरा छन् भने कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।
दयाहाङ राईले यसपटक ग्रामीण परिवेशका इमान्दार अभिभावकको भूमिकामा अभिनय गरेका छन् । चलचित्रले दर्शकलाई शेर्पा समुदायको कला, संस्कृति र जीवनशैली नजिकबाट अनुभव गराउने अपेक्षा गरिएको छ ।
‘कार्साङ’ ले समाजमा गरिबी र सांस्कृतिक जरोलाई जोगाउनका लागि गरिने संघर्षको कथा दर्शाउने छ । अब यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।