karsang
Close Me

सलोन र नम्रता अभिनित ‘रंगी’को जापान अधिकार बिक्री

काठमाडौं । सलोन बस्नेतले निर्माण गरेको चलचित्र ‘रंगी’ को जापान अधिकार बिक्री भएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो सिनेमालाई युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार खरिद गरेका छन् ।

फागुन २ गते देशभर प्रदर्शन हुने तयारीमा चलचित्रको निर्माण पक्षले अधिकार बिक्रीको रकम सार्वजनिक नगरिएको भए पनि यसलाई ठूलो सम्झौताका रूपमा लिइएको छ ।

‘रंगी’मा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको प्रमुख भूमिका रहेको छ ।

प्रस्तुतकर्ता सलोन बस्नेतले यस फिल्मले बाबु-छोरीको मार्मिक कथा देखाउने बताएका छन् । सलोनको यो डेब्यू निर्माण हो । बाल कलाकारको रूपमा चलचित्र ‘नेपाली बाबु’बाट अभिनय यात्रा सुरु गरेका सलोनले ‘होस्टल’ लगायतका चर्चित सिनेमामा हिरोको भूमिका निभाइसकेका छन् ।

सुरेश न्यौपानेको निर्देशनमा बनेको यो चलचित्र उनका लागि डेब्यू निर्देशन हो । न्यौपानेले यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘कृ’, ‘म यस्तो गीत गाउँछु २’ लगायतका चलचित्रमा सहायक निर्देशकको रूपमा काम गरिसकेका अनुभवी छन् ।

चलचित्रका निर्माता सक्षम सुवेदी र करिश्मा केसी बस्नेत हुन् । लेखन सुमन गजमेरको रहेको छ भने छायांकन सौरभ लामाले गरेका छन् ।

चलचित्रमा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, समीक्षा अधिकारी लगायतका कलाकारहरूको स्वर, र कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।