karsang
Close Me

अनमोल-नीति : पर्दामा अधुरो जोडी, दोस्तिमा फिट

काठमाडौं । अभिनेता अनमोल केसी र मोडल तथा अभिनेत्री नीति शाहले चलचित्रमा सँगै काम गर्ने चर्चा आजको होइन । सिनेमाको पर्दामा उनीहरूको जोडी देखिने चर्चा चले पनि त्यो आजसम्म साकार हुन सकेको छैन ।

अनमोल र नीतिको जोडीलाई पर्दामा देखाउन निर्देशक निर्माताले चाहे पनि विभिन्न कारणले त्यो हालसम्म सम्भव भएको छैन ।

स्कूलका सहपाठीसमेत रहेका अनमोल र नीतिको सिनेमामा सहकार्य नभए पनि व्यक्तिगत सम्बन्ध भने घनिष्ठ छ । यी दुई समय–समयमा भेटघाट गर्दै आएका छन् ।

पटक–पटक सहकार्यको प्रयास असफल भएका अनमोल र नीतिलाई सुरुवाती दिनमा चलचित्र ‘ड्रिम्स’मा भुवन केसीले जोडी बनाउन खोजेका थिए । प्रस्ताव गरेका पनि थिए । तर, त्यो समय नीतिले अभिनयमा रुचि नदेखाएपछि अभिनेत्री साम्राज्ञी आरएल शाहले उक्त सिनेमाबाट डेब्यु गर्ने मौका पाइन् ।

यसपछि, चलचित्र ‘एक्स ९’मा अनमोल र नीतिको जोडी बाँध्ने योजना बनेको थियो । दुवैले कागजी सम्झौता समेत गरेका थिए । तर, यो सिनेमा निर्माणकै चरणमा स्थगित भयो ।

अर्को चलचित्र ‘रावायण’मा पनि उनीहरूको जोडी बाँध्ने तयारी थियो । तर, छायांकन सुरु हुनु केही समयअगाडि अनमोलले यो सिनेमा छाडे, जसकारण नीतिको पनि सहकार्य त्यहीँ समाप्त भयो । ‘रावायण’को निर्माण प्रक्रिया बीचमै रोकिएपछि कलाकारको लाइनअप परिवर्तन गरियो ।

हालै अमेरिका भ्रमणमा रहेका अनमोल र नीतिले सान फ्रान्सिस्कोमा आयोजना भएको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’मा सहभागिता जनाए । अवार्डमा अनमोलले ‘उत्कृष्ट नायक’को अवार्ड जिते । नीतिले भने कुनै अवार्ड जित्न सकिनन् । नीतिको अभिनय क्षमतालाई लिएर आलोचना भइरहे पनि उनले नयाँ चलचित्रमा काम गर्न थालेकी छिन् ।

यता, समारोहपछि यी दुईले उनीहरूका केही तस्बिरहरू नीतिले सामाजिक सञ्जालमा सार्वजनिक गरिन् । तस्बिरमा उनीहरू हँसिलो मुद्रामा देखिएका छन्, जसले उनीहरूको हार्दिक सम्बन्धलाई स्पष्ट पार्छ ।