karsang
Close Me

नेपालसँगै विश्वभर ‘लाज शरणम्’

काठमाडौं । चर्चित सिरियल ‘सक्किगो नि’ समूहको प्रयासमा निर्माण गरिएको चलचित्र ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ ।

आगामी शिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शन हुने तयारी रहेको यो चलचित्रको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो ।

मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार सेभेन सिज इन्टरनेसनलले चलचित्रलाई दुई चरणमा बाँडेर अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने योजना बनाएको छ । वितरक सुवेदीका अनुसार, यो चलचित्र फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने छ । कुन-कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने उनले जानकारी दिएका छन् ।

नेपालमा भने चलचित्रको वितरण जिम्मा ब्यांकटेस इन्टरटेनमेन्टले लिएको छ । चर्चित सिरियल ‘सक्किगो नि’का कलाकारहरूको विशेष भूमिकामा रहेको यो चलचित्र कुमार कट्टेल ‘जिग्री ब्रो’को निर्देशनमा बनेको हो ।

चलचित्रमा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी) र कमलमणी नेपाल (खुपीका बाउ) जस्ता कलाकारहरूको अभिनय रहेको छ।

निर्माता नवीन श्रेष्ठको नेतृत्वमा बनेको यो चलचित्रमा राम नरेश शाह र श्रीजना खड्का सह–निर्माताको रूपमा रहेका छन् भने सुदीप बरालले छायांकन गरेका छन् ।

‘लाज शरणम्’ आफ्नो कथा, निर्देशन र प्रस्तुतिकरणका कारण नेपाली सिनेमा उद्योगको महत्वपूर्ण परियोजना मानिएको छ । चलचित्रले नेपाल र अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट व्यापार गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचार-प्रसार तीव्र रूपमा भइरहेको छ । दर्शकहरू यसप्रति उत्साहित छन्, र यसले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा उत्सुकता बढिरहेको छ ।