आमाको मृत्युको खबर आउँदा पनि छायांकन नछोडेर काम गरिरहने निश्चल

यतिबेला चलचित्र ‘लण्डन टु पेरिस’मा गरेको अभिनयलाई लिएर नायक निश्चल खड्काको तारिफ भइरहेको छ । विशेषगरी चलचित्रमा उनको डाइलग डेलिभरीलाई लिएर प्रशंसा भइरहेको छ । बोल्ड एन्ड स्विट भ्वाइसमा उनले बोलेको संवाद धेरैले रुचाइरहेका छन् ।

बोल्ड भए पनि भ्वाइसमा रहेको मिठास र डेलिभरीको तरिकालाई लिएर सिनेमा हेर्नेहरूले तारिफ गरिरहेका छन् । यही कारण लभस्टोरी चलचित्रमा उनी पनि थपिएको धेरैले बताइरहेका छन् । अनमोल केसी, प्रदीप खड्का र धिरजको विकल्प करिब करिब लभस्टोरी मुभीका लागि विकल्प नभइरहेको भनिरहँदा निश्चलको भइरहेको तारिफले चलचित्रका निर्देशक र निर्माताको नजर उनीमाथि पर्ने सम्भावना देखिएको छ ।

संवादमा निश्तलको प्रशंसा जसरी भइरहेको छ, अभिनयप्रति उनको लगाव त्योभन्दा धेरै रहेको पाइएको छ । अभिनयमा उनले देखाएको लगावलाई केही घटनाले पुष्टि गर्छ ।

चलचित्रको छायांकनमा भएका घटनाले चलचित्रमा उनको मोह कति छ भन्ने देखाउँछ । ‘लण्डन टु पेरिस’को छायांकनका लागि उनी लण्डनमा थिए । त्यहाँ चलचित्रको छायांकन भइरहेका बेला निश्चलकी आमाको निधन भयो । नेपालमा आमालाई गुमाएका दिन लण्डनमा ‘लण्डन टु पेरिस’को तेस्रो दिनको छायांकन भइरहेको थियो । निश्चल सुटिङमा व्यस्त थिए । तर उनी घर फर्किएनन् ।

जब चलचित्रको छायांकन पूरा भयो । उनी नेपाल फर्किए । र हिन्दु परम्पराअनुसार गरिने आमाको १३ दिनको काम गरे । यसले कामप्रति उनको लगावलाई दर्शाउँछ ।

पहिलो चलचित्रबाटै उनले देखाएको काम र लगावले नेपाली चलचित्र उद्योगमा निश्चलले बलियो सम्भावना देखाएका छन् ।