‘कार्साङ’मा दयाहाङको अपोजिटमा रहेकी सिर्जना को हुन् ? भन्छिन्- अभिनय मेरो रगतमै थियो

काठमाडौं । चलचित्र ‘कार्साङ’बाट सिर्जना निङ्लेखु नेपाली रजतपटमा अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन् । पहिलो फिचर फिल्ममा नै उनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने मौका पाइन् ।

‘कार्साङ’को हिरो दयाहाङ राई हुँदा सिर्जना हिरोइन हुन्, अर्थात् उनी दयाहाङको अपोजिटमा छिन् ।

कसरी उनले पहिलो चलचित्रमै मुख्य भूमिकामा मौका पाइन् ? सिर्जना अभिनयमा आफ्नो गहिरो लगाव रहेको बताएकी छन् ।

“सायद अभिनय मेरो रगतमै थियो । मैले अरु जे काम गरे पनि अभिनय गर्ने रहर मनमा गढेर बसेको थियो । त्यही भएर मैले केही सर्ट मुभीमा पनि काम गरेको थिएँ,” अभिनयमा आफ्नो रुचि रहेको बताउँदै सिर्जना भन्छिन् ।

पर्दामा देखिसकेको र क्यामेरा फेस गरिसकेकाले आफूले पहिलो सिनेमा भए पनि सहज रुपमा काम गरेको उनको भनाइ छ ।

“पहिला पनि पर्दाको काम गरेको र चलचित्रको काम कसरी हुन्छ भनेर अनुभव गरेकाले काम गर्न केही सहज भयो,” उनले भनिन्, “सर्ट मुभी र पर्दाकै अरु काम गरे पनि फिचर फिल्ममा केही न केही फरक त हुन्छ नै ।”

सिर्जना चलचित्र ‘जारी’बाट नै डेब्यु गर्ने तयारीमा थिइन् । तर, विभिन्न कारणले त्यहाँ सम्भव नभएपछि उनी त्यसमा पर्दा पछाडि मात्रै रहेर काम गरिन् । को–प्रोडुसरको रुपमा जारीको क्रेडिटलाइनमा उनको नाम छ ।

‘जारी’मा विभिन्न कारणले काम गर्न नजुरेको उनको भनाइ छ । तर, त्यसमा आफूले दाइलाई निर्माणमा सहयोग मात्रै गरेको उनी बताउँछिन् ।

“जारीमा पनि दयाहाङ दाइ नै हुनुहुन्थ्यो । यसमा पनि उहाँ नै हुनुहुन्छ । उहाँसँग नै काम गर्ने अवसर जुरेको रहेछ,” उनले भनिन् ।

आफूले सक्दो प्रयास र मिहिनेत ‘कार्साङ’मा गरेको उनको भनाइ छ । आफ्नो डेब्यु काम हेर्न पनि ‘कार्साङ’ हेरिदिन उनले आग्रह गरेकी छन् ।

पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाको निर्देशन छ ।

चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गरेको निर्माणपक्षले जनाएको छ ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।