‘बाटो : रोड टु डेथ’को प्रिमियरमा हेर्न छुटाउनै नहुने प्रतिक्रिया

काठमाडौं । शुक्रबार रिलिज हुने चलचित्र ‘बाटो ः रोड टु डेथ’को बुधवार प्रिमियर आयोजना गरिएको छ । प्रिमियरमा चलचित्रको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो ।

प्रिमियरमा राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी, राठी कोलका सिईओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका एचओडी रिदम शाह लगायत उपस्थित थिए । अध्यक्ष राठीले चलचित्र क्षेत्रमा पहिलो पटक जोडिएर काम गर्न पाउँदा गर्व महसुस गरेको र आगामी दिनमा पनि यस क्षेत्रमा कुनै न कुनै बहानामा जोडिइरहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यस चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा यो चलचित्र हेर्ने गति सबैले प्रशंसा गरेको बताए । उनले यस्तै प्रशंसा नेपाली दर्शकहरूबाट पनि पाउनेछु भन्ने आशा आफूले लिएको बताए । उनले भने, “नेपाली चलचित्रको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ । आजकल दर्शक फिल्ममेकर बन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले चलचित्र राम्रो नै बनाउनु पर्छ ।”

चलचित्रका अभिनेता सुलक्षण भारतीले यो चलचित्रमा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए । उनले यस प्रकारको चलचित्र नेपालमा यसअघि नबनेको बताए ।

अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतिक्षपछि चलचित्र रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । अभिनेत्री रक्षा थापाले यो चलचित्रमा एकदमै धेरै भावना जोडिएको बताइन् । उनले ‘बाटो’ हेर्दा चलचित्र सकिएको थाहा नै नहुने बताइन् ।

अहिलेसम्म नेपालमा बनेका चलचित्रहरू मध्ये बिलकुल फरक बनेको र यो चलचित्रले दर्शकलाई एउटा बाटोमा डोर्याउन सफल रहने प्रतिक्रिया प्रिमियर शो पछि प्रतिक्रिया दिँदै सहभागीले बताए । प्राविधिक रूपमा अत्यन्त गहन तरिकाले काम भएको र हरेक कलाकारको काम उत्कृष्ट रहेको प्रिमियरमा सहभागीले जनाए ।

काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रका निर्माता चन्दन झा हुन् । यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायाकार शरण ऋषिले छायांकन गरेका छन् ।

चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।