‘पुष्प २’ले बक्स अफिसमा कीर्तिमान तोड्यो, दंगलको रेकर्ड नजिक

काठमाडौं । भारतीय सिनेमा इतिहासमा नयाँ कीर्तिमान स्थापित गर्दै दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनीत चलचित्र ‘पुष्प २ : द रुल’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पुष्पा २’ले कमाइका हिसाबले लगातार नयाँ कीर्तिमान बनाइरहेको छ ।

बक्स अफिसमा ऐतिहासिक कमाई गर्दै ‘पुष्पा २: द रुल’ले हिन्दी भाषामा मात्र ८०० करोड भारु भन्दा बढी कमाइ गरेको छ । यो सिनेमाले बलिउडका ठूला ब्लकबस्टर चलचित्रलाई समेत पछाडि पारेको छ ।

बलिउडको एक सय वर्षको इतिहासमा नयाँ रेकर्ड राख्दै ‘पुष्प २ : द रुल’ भारतीय सिनेमा इतिहासको महत्वपूर्ण कोशेढुङ्गा बन्न पुगेको छ ।

‘पुष्पा २’ले भारतमा मात्र १२०० करोड रुपैयाँभन्दा बढीको कमाई गरेको छ भने विश्वव्यापी रूपमा १८२५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । यसले आगामी दिनमा आमिर खानको फिल्म दंगल को २००० करोड भारुको कीर्तिमान तोड्नसक्ने सम्भावना देखाएको छ ।

चलचित्रको ३२ औँ दिनमा पनि व्यापार मजबुत देखिएको छ । पाँचौं सातामाको आइतबार मात्र ‘पुष्प २ : द रुल’ले भारतमा ७ करोड भारु कमाएको छ ।

‘पुष्पा २’ले बलिउड र दक्षिण भारतीय उद्योगका ठूला ब्लकबस्टर चलचित्रहरू जस्तै जवान, पठान, एनिमल, बाहुबली, बाहुबली २, केजीएफ, केजीएफ २ लाई पछि पार्दै हिन्दी बक्स अफिसमा नम्बर वनको स्थान हासिल गरेको छ । यो सिनेमाले सबैभन्दा धेरै हिन्दी बेल्टमा कमाइ गरेको छ ।

यो चलचित्र अहिले आमिर खानको ब्लकबस्टर ‘दंगल’को २००० करोडको कीर्तिमानलाई २०० करोडको अन्तरले मात्र पछाडि छ । यदि ‘पुष्पा २’ले यो रेकर्ड तोड्न सफल भयो भने भारतीय सिनेमा इतिहासमा नयाँ पाना कोर्नेछ ।

‘पुष्प २ : द रुल’को क्षेत्रगत कमाई
तेलुगु: ३३४.७६ करोड
हिन्दी: ८०६ करोड
तमिल: ५८.१६ करोड
कन्नड: ७.७३ करोड
मलयालम: १४.१५ करोड

‘पुष्पा २’ को सफलताको पछाडि उत्कृष्ट कथा, दमदार अभिनय, र प्राविधिक पक्षको उच्च स्तर रहेको छ । अल्लु अर्जुनको प्रभावशाली अभिनय, थ्रिलिङ गीत/संगीत र पावरफुल डाइलगले दर्शकलाई सिनेमाघरमा बाँधेर राख्न सफल भएको छ ।

यो सिनेमाको सफलता बलिउडका लागि मात्र होइन, सम्पूर्ण भारतीय चलचित्र उद्योगको लागि ऐतिहासिक क्षण बन्न सफल भएको छ ।

‘पुष्पा २’ ले प्रदर्शनको ५० दिन कटाउनै लाग्दा यसको ओटीटी रिलिज पनि तयारीमा रहेको छ । निर्माता टोलीका अनुसार यो सिनेमा आगामी फेब्रुअरी महिनामा नेटफ्लिक्समा उपलब्ध हुनेछ ।