बलात्कारीको हत्या सही हो वा गलत ?

काठमाडौं । चलचित्र ‘देवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । शिल्पा मास्केको मुख्य भूमिका रहेको चलचित्रले रिलिज डेट लक गरेको हो । निर्माणपक्षका अनुसार यो चलचित्र भदौ २१ गते रिलिज हुनेछ । तीजको अवसर पारेर रिलिज हुने लागेको हो ।

चलचित्र महिला यौनहिंसाविरुद्धको कथावस्तुमा आधारित रहेको छ । सिनेमाको पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ ।
सञ्जोग राईले निर्देशन गरेको चलचित्र क्राइम थ्रिलर जनरामा छ । निर्देशक राईले महिलामाथि हुने यौनहिंसाविरुद्धको कथामा व्यावसायिकभन्दा पनि इमान्दार भएर राम्रो चलचित्र बनाउने प्रयास गरेको बताएका छन् ।

निर्देशक राईले नेपालमा क्राइम थ्रिलर सिनेमा थोरै मात्र बन्ने भएकाले पनि यो जनरामा काम गरेको उल्लेख गरेका छन् ।

चलचित्रमा एक अपरिचित पात्रले धमाधम बलात्कारीको हत्या गरेपछि यो हत्या सही वा गलत भन्ने प्रश्न सिनेमाले उठान गर्ने प्रयास गरेको छ ।

नेपालको कानुन संशोधन गरेर बल्कारविरुद्धको अपराधमा थप कठोर हुन आवश्यक रहेको सन्देश यो चलचित्रले दिन खोजेको छ ।

चलचित्रमा शिल्पाले पत्रकार, गौरव पहारीले अपराध अनुसन्धान गर्ने प्रहरी र नाजिर हुसेनले एक संस्था सञ्चालकको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा अभिनेता टीका पहारीले पनि अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।

चलचित्रको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।

चलचित्रलाई रामबाबु गुरुङको बाँसुरी फिल्म्सले प्रदर्शनमा सघाउने भएको छ ।