एक्टर: टेक वन: ‘के भरोसा गरम’ गीतको एक दिनमै १० लाख भ्यूज

काठमाडौं । चलचित्र ‘एक्टर: टेक वन’को पहिलो गीत ‘के भरोसा गरम’ युट्युबमा रिलिज भएको एक दिनमै १० लाख भ्यूज नाघ्न सफल भएको छ ।
माघ १६ गते रिलिज हुने चलचित्रको गीतले उल्लेखनीय सफलता पाएपछि यसको सङ्गीतकार तथा गायक हर्कुलस बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी र कृतज्ञता व्यक्त गरेका छन् ।
हर्कुलसले पोस्ट गर्दै भनेका छन्, “हाम्रो गीतले एक दिनमै एक मिलियन भ्यूज पार गरेको खबर दिन पाउँदा अत्यन्तै खुसी छु, यस टिमसँग उभिन पाउँदा आफैँलाई भाग्यमानी र गर्व महसुस गरिरहेको छु। म यो सफलताका लागि पूरा टिमलाई धन्यवाद दिन चाहन्छु ।”
उनले यो गीतलाई उत्कृष्ट बनाउन योगदान गर्ने सबैलाई सम्झदै गायिका इन्दिरा जोशीको प्रशंसा गरेका छन् । साथै, उनले गीतकी रचनाकार तथा आफ्नी श्रीमती उर्मिला गुरुङलाई आफ्नो सिर्जनालाई प्रेरित गरेकोमा आभार प्रकट गरेका छन् ।
गीतमा अभिनेता प्रदिप खड्का अभिनेत्रीद्वय आना शर्मा, र दिव्या रायमाझीले अभिनय गरेका छन् भने यसको कोरियोग्राफी किरण थापाले गरेका छन् ।
राजन भुसालले निर्देशन गरेको यो चलचित्रमा प्रदिप, आना र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
‘एक्टर: टेक वन’ अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सह-निर्माता अनीश भुसाल रहेका छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् ।
‘एक्टर: टेक वन’ नेपाली सिने उद्योगको एक महत्वाकांक्षी प्रोजेक्ट मानिएको छ । यसका गीत-सङ्गीत र ट्रेलरले दर्शकमाझ उत्साह र चर्चा सिर्जना गरेको छ । चलचित्र माघ १६ गतेदेखि देशभर प्रदर्शन हुने तयारीमा छ ।