तातेको नेपाली चलचित्रको बजार माघदेखि थप तात्ला कि सेलाउला ?

पवन भट्टराई
काठमाडौं । नेपाली चलचित्र उद्योगले पछिल्लो समय व्यापार र प्रदर्शनमा नयाँ उचाइ प्राप्त गरेको छ । वैशाखदेखि कात्तिकसम्म धेरै नेपाली चलचित्रले बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गरे ।
तर, कात्तिकपछि चलचित्र उद्योग केही सुस्तायो । मंसिर र पुसमा भने सिनेमा हलले रिलिज हुने चलचित्रको अभाव नै महसुस गर्नुपर्यो ।
अब नेपाली बक्सअफिसमा मंसिर र पुसको सुस्त व्यापारपछि, माघदेखि चैतसम्म सिनेमा रिलिजको लहरले हलहरूमा दर्शक तान्ने अपेक्षा गरिएको छ । यसको सुरुवात पुस २६ गतेदेखि ‘कार्साङ’ले गर्ने अपेक्षा गरिएको छ ।
माघ, फागुन र चैतमा भने नेपाली चलचित्र उद्योगले आक्रामक रूपमा आफ्नो उपस्थिति देखाउन लागेको धेरैको अनुमान छ ।
फागुनमा मात्रै ९ चलचित्र रिलिज हुने तय भइसकेको छ । यसमा फागुन २ गते ‘दुखी आत्मा’, ‘रंगी’ र ‘ताण्डवम्’, फागुन १४ गते ‘मायावी’, ‘फेरि रेशम फिलिली’ र ‘लाज शरणम्’, फागुन २३ गते ‘होस्टेल ३’ र फागुन २९ गते ‘अन्जिला’ र ‘आउट ल : दफा २१९’ रहेका छन् ।
चैतमा ७ चलचित्र रिलिज हुनेछन् । चैत १ गते ‘राजागंज’, चैत ८ गते ‘द्रौपदी’ र ‘११:५५’, चैत २२ गते ‘बसन्त’ र नयाँ वर्षको छेको पारेर चैत २९ गते ‘पिताम्बर’, ‘नरसिंहा अवतार’ र ‘कर्मा’ प्रदर्शनमा आउनेछन् ।
दर्शकको खर्च र चुनौती
दर्शकले अब लगातार रिलिज हुने चलचित्र हेर्नका लागि ठूलो आर्थिक खर्च गर्नुपर्ने देखिएको छ । फागुन र चैतमा दर्शकले १५ भन्दा बढी चलचित्र हेर्नका लागि औसत ७,५०० रुपैयाँसम्म खर्च गर्नुपर्ने देखिन्छ ।
एउटा चलचित्र हेर्न ५ सय रुपैयाँ जति लाग्ने हुँदा फागुन र चैतमा मात्र दर्शकले ७ हजार ५ सय रुपैयाँसम्म खर्च गर्नुपर्ने आँकलन गरिएको छ । यसरी, एकै समयमा धेरै चलचित्रको प्रदर्शनले दर्शकको रोजाइमा कस्तो असर पार्छ भन्ने विषयमा निर्माताहरू सतर्क छन् ।
शिवरात्रिको प्रतिस्पर्धा
विशेषतः फागुन १४ गते महाशिवरात्रिको अवसरमा तीन ठूला चलचित्र, ‘मायावी’, ‘फेरि रेशम फिलिली’ र ‘लाज शरणम्’को त्रिपक्षीय भिडन्त हुनेछ । यस दिन हलहरूमा दर्शकको उपस्थिति उच्च रहने अपेक्षा गरिएको छ ।
नयाँ वर्षलाई लक्षित तयारी र प्रदर्शनको भीड
चैत अन्त्य र नयाँ वर्षको समय नेपाली चलचित्र उद्योगका लागि सदैव महत्वूपर्ण हुने गर्छ । यसपटक पनि ‘कर्मा’, ‘नरसिंहा अवतार’ र ‘पिताम्बर’ जस्ता ठूला चलचित्रले बक्सअफिस तताउने तयारी गरेका छन् ।
हलमा विदेशी चलचित्रको प्रभाव
दर्शक आकर्षणका लागि नेपाली चलचित्रहरूलाई विदेशी चलचित्रको प्रभाव सामना गर्नुपरेको छ । उदाहरणका लागि पुस २० गते रिलिज भएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ले नेपाली चलचित्रको व्यापारलाई प्रत्यक्ष असर गर्यो । चैतमा बलिउड चलचित्र ‘सिकन्दर’को प्रदर्शन पनि नेपाली फिल्मका लागि चुनौती बन्नसक्छ ।
प्रदर्शन हुन लागेका चलचित्रबाट आशा
दयाहाङ राई अभिनीत ‘कार्साङ’ र ग्रामीण कथामा आधारित ‘फिरफिरे फिरिरी’ जस्ता चलचित्रले नयाँ कथा र मनोरञ्जन पस्कने अपेक्षा गरिएको छ । फागुन र चैतमा मात्र होइन, यस वर्षको दसैँ र अर्को वर्षका लागि पनि निर्माणाधीन चलचित्रहरूले निर्माण प्रक्रिया सुरु नगरी नै प्रदर्शन मिति तोकेका छन् ।
नेपाली दर्शकको रोजाइ र अपेक्षालाई ध्यानमा राखेर प्रदर्शन हुने यी चलचित्रले उद्योगलाई आर्थिक रूपमा सशक्त बनाउने विश्वास गरिएको छ । नेपाली चलचित्र उद्योगको यस चलायमानताले निर्माण पक्ष, हल सञ्चालक र दर्शकबीच उत्साह थप्नेछ ।
नेपाली चलचित्र उद्योगले फागुन र चैतको व्यस्त तालिकाबाट दर्शकको मन जित्ने र बक्सअफिस पुनः सक्रिय बनाउने आशा गरेको छ । यो प्रतिस्पर्धा कसका लागि लाभदायक हुन्छ र कुन चलचित्रले दर्शकको मन जित्छ त्यो भने प्रतिक्षाको विषय छ ।