डेढ वर्षभित्र चलचित्र छायांकन स्टुडियो बन्ने, बनेपा कि आरुबारीमा ?

काठमाडौं । चलचित्र विकास बोर्डले अबको डेढ वर्षभित्र चलचित्र छायांकन स्टुडियो बन्ने बताएको छ ।
काभ्रेपलाञ्चोकको बनेपामा चलचित्र छायांकन स्टुडियो डेढ वर्षभित्र बन्ने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताएका छन् ।
यसका लागि अन्तिम तयारी भइरहेको उनको भनाइ छ । “नेपाली चलचित्र उद्योगसँग अहिलेसम्म एउटा पनि सुटिङ स्टुटियो छैन । त्यसैले मैले यसलाई प्राथमिकतामा राखेको छु,” उनले भनेका छन् ।
अर्थ मन्त्रालयबाट सहमति आएपछि स्टुडियो निर्माणका लागि टेन्डर आह्वान हुने उनको भनाइ छ । टेन्डरको प्रक्रिया सबै तयार भइसकेको अध्यक्ष डिसीले बताएका छन् । टेन्डर प्रक्रिया आउट भएको दुई हप्तामा शिलान्यास हुने उनी बताउँछन् ।
बनेपामा स्टुडियो बन्ने तर त्यहाँ सम्भव नभए त्यसको विकल्प खोज्न बोर्ड तयार छ । “स्टुडियो बनेपामा बन्छ । त्यहाँ भएन भने धुलिखेलमा बन्छ,” अध्यक्ष डिसी भन्छन्, “त्यहाँ पनि बनेन भने आरुबारीमा १६ रोपनी जग्गा हेरेका छौँ, त्यहाँ बन्छ ।”
३८ करोड बजेटमा स्टुडियो बन्नेछ । यसले पुगेन भने अर्थ मन्त्रालयले दिने उनको भनाइ छ । बहुवर्षीय ठेक्का प्रयोजनमा जाँदा मन्त्रालयबाट बजेट थप हुनेछ ।
दोलखाको फिल्म सिटी भने नबन्ने उनको भनाइ छ । बजेट अभावका कारण त्यो सम्भव नरहेको उनी प्रष्ट पार्छन् । फिल्म सिटी बनाउन अरबौं लाग्ने तर त्यसका लागि बजेट नभएको उनले बताए । वैदेशिक लगानीबिना फिल्म सिटी बन्न नसक्ने उनको भनाइ छ । वैदेशिक लगानी सिनेमा क्षेत्रमा अहिले सम्भव नरहेको उनको भनाइ छ ।
सिनेमा छायांकन स्टुडियो र दोलखाको फिल्म सिटी बन्ने भनेर बर्सेनि चर्चा हुने गरे पनि हालसम्म बनेको छैन ।