चलचित्र ‘भूठान’को प्रदर्शन मिति तय

काठमाडौं । नेपालका चर्चित हास्य कलाकार तथा अभिनेता हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘भूठान’ (अंग्रेजी नाम: The World’s Happiest Man) को प्रदर्शन मिति तय भएको छ ।
बिहीबार निर्माण कम्पनी म्याड मङ्की फिल्म्सले एक पोस्टर सार्वजनिक गर्दै आउँदो वर्षको बैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।
हरिवंश आचार्यसहित हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङ राईलाई समावेश गरेर सार्वजनिक गरिएको पोस्टरमा पात्रको लुक्स र मनोदशा दर्शाउन खोजिएको छ ।
कपाल र दाह्री सेतै फुलेका आचार्यलाई निराश भावमा देखाइएको छ भने दयाहाङलाई अमेरिकी आर्मीको पोशाकमा चित्रित गरिएको छ ।
चलचित्रमा हरिवंश, ब्रुस र दयाहाङसहित अनुराधा मजुमदार, पूजा चन्द-लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल र टम क्रेनले मुख्य भूमिका निर्वाह गरेका छन् । यसमा हलिउडका प्रसिद्ध अभिनेता ब्रुस डर्नले विशेष भूमिका रहेको छ ।
यो चलचित्र हलिउडको साग अफट्रा अन्तर्गत निर्माण भएको पहिलो नेपाली चलचित्र हो, जसमा हलिउडका प्राविधिकहरूले पनि योगदान दिएका छन् ।
चलचित्रका निर्देशक विनोद पौडेल हुन्, उनले यसअघि सन् २०१९ मा बुलबुल निर्देशन गरेर नेपाललाई ९२औं अस्कर अवार्डको मनोनयनसम्म पुर्याएका थिए । नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका पौडेलको दोस्रो चलचित्र हो ।
पौडेलले ‘भूठान’ लाई सम्पूर्ण विश्वका दर्शकहरूका लागि बनाइएको र यसले कथा तथा भावको गहिराई सबैले महसुस गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको चलचित्रका प्रमुख निर्माता राजेन्द्र ठकुराठी, अमिताव जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा हुन् । यस सिनेमाको सह-निर्माताहरूमा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली रहेका छन् ।
चलचित्र ‘भूठान’ भूटानदेखि भारत, नेपाल हुँदै अमेरिका पुगेका भूटानी समुदायको संघर्ष, देशप्रेम र आफ्ना जरा खोज्ने यात्राको भावपूर्ण कथा प्रस्तुत गर्दछ। चलचित्रको सम्पूर्ण छायांकन केही महिना अघि अमेरिकामा सम्पन्न भएको हो ।
चलचित्रका प्राविधिक टोलीमा छायांकन सुसन प्रजापतिको, सम्पादन अन्जय खड्काको, ध्वनि डिकेश खड्गी शाहीको, कास्टिङ्ग सुर्य शाहीको र पब्लिसिटी डिजाइन उज्जवल श्रेष्ठको रहेको छ ।
निर्माताहरूका अनुसार ‘भूठान’ हरिवंश आचार्यको जीवनको सबैभन्दा उत्कृष्ट चलचित्र बन्नेछ । यो चलचित्रलाई बलिउड र हलिउडकै वितरकको सहकार्यमा विश्वभर एकसाथ प्रदर्शन गर्न प्रयास भइरहेको छ । आरआर फिल्मस्ले नेपालमा यस चलचित्रको वितरण गर्ने भएको छ ।
‘भूठान’ले नेपाली सिनेमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिने अपेक्षा गरिएको छ ।