नेपाली चलचित्र क्षेत्रमा सम्भावनाको अर्को ढोका खोल्ने विश्वास

काठमाडौं । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौंमा एक दिवसीय ‘चीन चलचित्र दिवसको आयोजना गरिएको छ । पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त प्रमुख अतिथि रहेको कार्यक्रममा कलाकार नीर शाह, सुनिल थापा, केदार घिमिरे लगायत नेपाली चलचित्र र साहित्यसँग सम्बन्धित व्यक्तित्वहरुको साथमा चिनियाँ फिल्ममेकर र कलाकारको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिति वर्षमान पुनले नेपालमा पहिलोपटक आयोजित चीन चलचित्र दिवसमा सहभागी हुन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए । उनले भने, “यो सांंस्कृतिक संबन्धको उत्सव हो । यसले हामी दुईका चलचित्रमार्फत हाम्रो संबन्धलाई अझ प्रगाढ बनाउन मद्धत मिल्ने विश्वास लिएको छु ।” साथै उनले कार्यक्रमले नेपाली चलचित्र क्षेत्रमा अर्को सम्भावनाको ढोका खोल्ने समेत उल्लेख गरे । ।
आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल चलचित्र हेर्ने मात्र नभई दुई देशबीचको सम्बन्ध ठूलो कुराको लागि एउटा सुरुवाती प्रवेशद्धार रहेको उल्लेख गरे । उनले भने, “नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ र यस्तो कार्यक्रमले चलचित्रमार्फत आगामी संबन्धलाई अगाडि बढाउने एउटा महत्वपूर्ण कदम पनि हो ।”
चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको देश रहेको बताए । उनले भने, “हामी आशा गर्छौ कि यस चलचित्र महोत्सवबाट चाईना र नेपाल बीचको चलचित्र क्षेत्रमा हुने उपयोगको सहकार्यमा अझ राम्रो सम्बन्ध बन्दै जानेछ ।”
चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ जिनले हालका वर्षहरुमा चीन चलचित्रहरुका लागि विश्वको ठूलो बजार भैसकेको र नेपालमा समेत चिनियाँ चलचित्रको छायाँकन भएको सन्दर्भ उल्लेख गर्दै भने, “अघिल्लो वर्ष नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा २०२५ मा चिनियाँ फिल्म फेस्टिभल गर्ने संझौता भएको थियो । यस वर्ष चीन र नेपाल बीचको कुटनीतिक संबन्धो ६० बर्षको हो र यस वर्ष नेपाल पर्यटन वर्ष पनि हो । दुई देश बीच उत्सव श्रृंखलाको रुपमा यस चीन चलचित्र दिवस कार्यक्रमले दुई देशका चलचित्र निर्माता बीचको सहयोग आदान प्रदान का लागि प्लेटफर्म प्रदान गर्नेछ ।”
चलचित्र दिवसमा सहभागीको लागि १४ सदस्यीय टोलीको नेतृत्व गर्दै चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ सहित चर्चित चलचित्र ‘जी फर ग्याप’ की अभिनेत्री तथा दुईपटक गोल्डेन रुस्टर अवार्ड जित्नुभएकी यु हङ सहभागी भएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ फिल्म ‘पर्सनल पर्सिसटेन्स’ का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’ का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, फिल्म ‘मिडसमर भोइस’का निर्देशक झाङ युडी लगायत को टोली कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा ३ चिनियाँ फिल्महरु, यीहुई साओ निर्देशित ‘हर स्टोरी’ युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरिएको छ ।