उस्तै कथा, त्यस्तै प्रेम, उही द्वन्द्व कसरी दर्शकको मन जित्ला ?

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । अन्तरजातीय प्रेममा प्रेमी प्रेमिका परेपछि उत्पन्न समस्यालाई ट्रेलरले देखाएको छ ।

कस्तो छ ट्रेलर ?
गुपचुप प्रेम, परिवारको डर, केटाले गर्ने आँट, परिवारको अवरोध अनि एउटा परिवारले अर्को परिवारलाई दिने चुनौती, यो कथा नेपाली दर्शकले कति हेरे ६० को दशकसम्म ?

उस्तै डाइलग, उस्तै अभिनय, उस्तै गीत, यस्तै कथावाचनको शैली कति हेरे दर्शकले ‘लुट’ आउनु अगाडि ? जुन शुक्रबार चलचित्र रिलिज भए पनि, जुन निर्देशक र कलाकारका चलचित्र आए पनि यही होइन कथा ? हो ।

समय फेरियो । चलचित्रका दर्शक फेरिए । दर्शकको बुझाई फेरियो । सिनेमा हेर्ने नजर फेरियो । अनि सिनेमा पनि फेरिए ।

सिनेमाका कथा फेरिए । कथा भन्ने शैली फेरियो । अभिनयको ढाचा पनि फेरियो । तर कसैले फेरि उही समय फर्काउँछु, शैली र टेस्ट फर्काउँछु भन्यो भने त्यो सम्भव होला र ? सायदै होला ।

सम्झिएर नोस्टाल्जिक हुनु बेग्लै कुरा । दर्शकले पत्याउनु अलग कुरा । दोस्रो पक्ष चाहिँ बलियो भयो भने के हुन्छ ? प्रष्टै छ, सिनेमा चल्दैन । शुक्रबार रिलिज भएको चलचित्र ‘ईश्वर’को कमजोर ट्रेलरले यही सम्भावना संकेत गरेको छ । सम्पादकले राम्रो ट्रेलर काट्न नसकेको हो भने फरक नतिजा आउला । आओस् पनि ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा हरिबहादुर थापाको निर्माण छ । भोजराज देवकोटाको पटकथा तथा संवाद छ । चलचित्रमा ध्रुव थापा, सुनील थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायत कलाकारको अभिनय छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रबाट अभिनेत्री अनु शाहले पाँच वर्षपछि अभिनयमा कमब्याक गरेकी छन् ।

चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ ।

रामेश्वर हुँमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रको वितरण आरआर फिल्मसले गर्दैछ ।

चलचित्र साउन ११ गतेबाट प्रलर्शनमा आउँदैछ ।