चलचित्र ‘खेल’को पोस्टरसँगै प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘खेल’को पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको छ । अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त निर्देशनमा तयार भएको यो सिनेमा २०८२ सालको वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

निर्देशक प्रधान र श्रेष्ठले यसअघि बलिउडका दर्जनभन्दा बढी चलचित्रमा सह-निर्देशन गरेका छन् । उनीहरूको यो संयुक्त निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र हो । चलचित्रमा अभिनेत्री सुरक्षा पन्त प्रमुख भूमिकामा रहेकी छिन् । साथै, हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम र निकिता आचार्यको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा भोला राज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय रहेको छ।

चलचित्रको सार्वजनिक पोस्टर रहस्य र थ्रिलरले भरिएको छ। पोस्टरले विद्यालय जीवनका किशोरीहरूको कथा प्रस्तुत गर्ने संकेत दिएको छ । अभिनेत्री सुरक्षा पन्त पोस्टरको केन्द्रमा छन्, जसले उनको चरित्रको महत्त्वलाई उजागर गरेको छ । पाँच कोणीय तारा, अन्धकार वातावरण, र पोस्टरमा उल्लेखित ‘Been 6 years, still missing’ जस्ता तत्त्वहरूले चलचित्र रहस्य, डर, र थ्रिलर विधासँग सम्बन्धित रहेको देखाउँछ ।

पोस्टरमा देखिएको गितार, पुरानो बस, र त्यसबाट निस्किएको प्रकाशले कथामा थप रोमाञ्चकता थपेको छ। चलचित्रले नेपाली लोककथा, परम्परा, र अध्यात्मलाई थ्रिलर र सस्पेन्स माहौलसँग जोड्दै चार साथीहरूको जीवनको भयानक घटनाको कथा समेटेको छ ।

चलचित्रको कथा आशिषराज महर्जनले तयार गरेका हुन् । यसमा चार जना साथीहरूको जीवनमा अध्यात्ममा आधारित खेलले ल्याएको डरलाग्दो मोडलाई देखाइएको छ।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् । निर्माता आशिषराज महर्जनसँगै सह-निर्मातामा कुनालराज गुरुङ र रहिशराज महर्जन छन् ।

चलचित्रको पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका हुन् भने संवाद विष्णु गैरेले तयार पारेका छन् । छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् । जेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, र मेकअप दिपु पौडेलले गरेका छन् ।