चलचित्र ‘कार्साङ’ विवादमा: शेर्पा समुदायले किन गरे विरोध ?

काठमाडौं । चलचित्र ‘कार्साङ’लाई लिएर केही विरोधका स्वर सुनिन थालेको छ । शेर्पा समुदायले विरोध गरेका हुन् ।
शेर्पा कल्चरमा आधारित भनेर निर्माणपक्षले चलचित्रको प्रचार गरेको भन्दै केही शेर्पा समुदायले विरोध गरेका हुन् । ठाउँ अनुसार शेर्पा समुदायको संस्कृति फरक फरक हुने भन्दै ‘कार्साङ’लाई शेर्पा समुदायको कथामा आधारित चलचित्र भन्न नमिल्ने भन्दै विरोध जाइएको छ ।
शेर्पा समुदाय बौद्ध धर्मसँग सम्बन्धित रहेकाले बलि नदिइने तर ‘कार्साङ’मा बोकाको बलि दिइएको भन्दै गलत प्रचार नगर्न विभिन्न शेर्पा समुदायको आग्रह छ ।
चलचित्रमा प्रयोग गरिएको पहिरन पनि सबै शेर्पा समुदायको नभएको भन्दै यसलाई सबै शेर्पा समुदायको भन्दा पनि निश्चित ठाउँ विशेषको भन्न निर्माणपक्षलाई सुझाव आएको छ ।
“शेर्पा समुदायको एउटा छाता संगठनको नेतृत्व गरिरहेको अभिभावक जस्तो व्यक्ति नै मौन बसेर यो चलचित्रको कथालाई शेर्पा संस्कृति हो भनि वकालत गर्नु बढी दुःखद छ,” विभिन्न शेर्पा समुदायले भनेका छन्, “के का लागि यो संघसंस्था गलतलाई गलत भन्न नसक्ने । यस प्रकारका चलचित्र, विषयवस्तुलाई बहिष्कार नगरी अझ उजागर गर्ने । तपाईँहरूमा अझै पनि एउटा सभ्यता छ भने निष्पक्ष र निस्वार्थ साथ आवाज उठाउनुस् । नत्र आवश्यक पर्दा अपांग संस्था खारेज गरिदिनुस् ।”
गत शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका छन् ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।