प्रदीपको दाबी- ‘प्रकाश’ जस्तै ‘पिताम्बर’ मेरो सिने करिअरको नयाँ खुड्किलो हुनेछ

काठमाडौं । अभिनेता प्रदीप खड्काले ‘पिताम्बर’ आफ्नो सिने करिअरमा नयाँ खुड्किलो भएको बताएका छन् । ‘पिताम्बर’ आफ्नो करिअरमा नया खुड्किलो भएको उनको भनाइ छ ।

यो कुरा टिजरले नै बोलेको उनको भनाइ छ । काठमाडौंमा सोमबार टिजर सार्वजनिक कार्यक्रममा निकै आत्मविश्वासी देखिएका प्रदीपले एक्सन सिनेमामा आफूलाई ‘पिताम्बर’ले प्रमाणित गर्ने संकेत गरे ।

‘पिताम्बर’को एक्सनले सबै कुरा बोल्ने प्रदीपको भनाइ छ । टिजरमा केही हदसम्म एक्सन देखिएको उनको भनाइ छ । बाँकी कन्टेन विस्तारै देखिँदै जाने उनले बताए ।

“अपेक्षा अनुसार नै एक्सन सिनेमा बनेको छ । राम्रो गर्छु भनेर निर्देशक मसँग आएपछि स्क्रिप्ट नै नहेरी मैले ओके गरेको हुँ,” उनले भने, “मैले उहाँले जसरी राम्रो काम गर्ने भनेर आउनु भयो त्यसमा मैले इमान्दारिता देखेँ । र ओके गरेँ ।”

आफूले सोचेभन्दा पनि राम्रो चलचित्र बनेको उनको दाबी छ । आफूले टिजर हेरेपछि निर्देशक र निर्मातालाई धन्यवाद दिएको बताए ।

जसरी ‘प्रकाश’ले आफ्नो सिने करिअरमा नयाँ इटा थप्यो त्यसैगरी ‘पिताम्बर’ले पनि नयाँ अध्याय सुरु गर्ने बताए । ‘प्रकाश’बाट उनी क्यारेक्टर आर्टिस्टमा ढलेका थिए ।

दर्शकको चाहना अनुसार चलचित्र बनेको भन्दै प्रदीपले ‘पिताम्बर’मा स्क्रिप्ट भन्दा पनि निर्देशक कृषाको सिनेमाप्रतिको लगाव हेरेर आफूले काम गरेको बताए ।

कर्नरिङ गरिएको क्यारेक्टर जसरी आक्रमणमा उत्रिन्छ त्यस्तै सिनेमामा आफ्नो चरित्र रहेको उनले प्रष्ट पारे । प्रतिशोधको भावनाले काम गर्ने पात्र आफूले चलचित्रमा निभएको प्रदीपको भनाइ छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायत कलाकारको अभिनय छ ।

विशाल चौलागाईं निर्माता रहेको चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद छ ।

पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन छ ।

‘पिताम्बर’ नयाँवर्ष २०८२ को अवसर पारेर चैत २९ गते रिलिज हुनेछ ।