दिव्या भन्छिन्- चलचित्र क्षेत्रमा स्टार किड्सलाई आउन सजिलो, प्रमाणित गर्न गाह्रो

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीले अमेरिकामा पढाइ र जागिरपछि नेपाली फिल्म उद्योगमा पाइला टेकिसकेकी छन् ।

अमेरिकामा अध्ययनरत रहेकी दिव्याले अभिनेत्री बन्नकै लागि सुरुवाती चरणमा चलचित्र ‘बरिष्ठ बलराम’बाट डेब्यू गर्ने तयारी गरेकी थिइन्, तर उक्त सिनेमा नबनेपछि उनी ‘एक्टर: टेक वान’मा आबद्ध भइन् । यसपछि उनले ‘पिताम्बर’मा पनि अभिनय गरिन् ।

दिव्याको पहिलो सिनेमा ‘एक्टर: टेक वान’ आगामी माघ १६ गते प्रदर्शनमा आउँदैछ भने दोस्रो सिनेमा ‘पिताम्बर’ नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुने तयारीमा छ ।

दिव्याले पिता दिलीपको पहिचान र योगदानका कारण उनलाई उद्योगमा प्रवेश गर्न सजिलो भए पनि आफ्नै पहिचान बनाउन भने चुनौतीपूर्ण यात्रा सुरु भएको छ । हालसम्म उनको परिचय मुख्य रूपमा अभिनेता दिलीप रायमाझीकी छोरी भन्ने छ ।

पिता दिलीपको पहिचानलाई आधार बनाएर इन्डस्ट्रीमा प्रवेश गरे पनि दिव्याले आफ्नै पहिचान बनाउन र आफ्नो अभिनय यात्रा स्थापित गर्न चुनौतीपूर्ण यात्रा सुरु गरेकी छिन् । यी चलचित्रमार्फत उनले आफ्नै पहिचान बनाउन र पिता दिलीपको नामको प्रभावलाई छायामा पार्दै आफ्नो अभिनय यात्रा स्थापित गर्नुपर्नेछ । अब दुई चलचित्रले उनको अभिनय क्षमतालाई दर्शकसामु प्रमाणित गर्ने जिम्मेवारी बोकेका छन् ।

सोमबार कृषा चौलागाईंको निर्देशनमा बनेको चलचित्र ‘पिताम्बर’को टिजर रिलिज कार्यक्रममा दिव्याले पिता दिलीपको पहिचानले नेपाली चलचित्र क्षेत्रमा छिर्न सजिलो बनाएको स्वीकार गरिन् । उनले आफ्नो अभिनय क्षमतामार्फत आफ्नै नाम बनाउन चाहेको बताएकी छिन् ।

आफू स्टार किड्स भएकाले उद्योगमा प्रवेश गर्न सजिलो भए पनि आफ्नै पहिचान बनाउन कठिन संघर्ष गर्नुपरेको अनुभव व्यक्त गरिन् । दिव्याले भनिन्, “मेरो ड्याडीले तीन दशकभन्दा बढी समय फिल्म उद्योगलाई दिनुभएको योगदानकै कारण मलाई प्रवेश गर्न सजिलो भयो । तर, इन्डस्ट्रीमा टिक्न र आफ्नो पहिचान बनाउन डबल मेहनत गर्नुपर्ने रहेछ ।” उनले स्टार किड्स भएको नाताले धेरै तुलना हुने बताउँदै आफूलाई प्रमाणित गर्न दुई सय प्रतिशत योगदान दिनुपर्ने धारणा राखिन् ।

प्रदीप खड्कासँगको सहकार्य र गसिपको प्रतिक्रिया

दिव्याले दुवै चलचित्रमा अभिनेता प्रदीप खड्कासँग सहकार्य गरेकी छिन् । उनीहरूबीचको जोडी र केमेस्ट्रीको चर्चा सामाजिक सञ्जालदेखि मिडियासम्म भइरहेको छ । दुवै चलचित्र प्रदर्शनमा नआउँदै दिव्याबारे गसिप पनि फैलिएको छ । उनी प्रदीपसँग प्रेम सम्बन्धमा छन् भन्ने गसिप राम्रैसँग फैलिएको छ ।

कार्यक्रममा प्रदीपसँग नाम जोडिएर आएको गसिपबारे सोधिएको प्रश्नमा दिव्याले यसलाई सामान्य रूपमा लिँदै कलाकारबीचका गसिपहरू स्वाभाविक रहेको बताइन् । उनले भनिन्, “दर्शकले हामीले सँगै गरेको काम मन पराएको हुनसक्छ । यसैले हाम्रो नाम जोडिएको होला । हामी लगातार दुई चलचित्रमा सँगै काम गर्‍यौं, त्यो भएर पनि प्रेमबारे गसिप फैलिएको हुनसक्छ । अर्को कुरा स्क्रिनमा हाम्रो जोडी राम्रो देखिएकाले पनि गसिप चलेको हुनसक्छ । संसारभरका चलचित्र क्षेत्रमा अभिनेता–अभिनेत्रीका सम्बन्धलाई लिएर गसिप हुने गर्छन् । यसलाई सकारात्मक रूपमा लिनु पर्छ ।”

‘पिताम्बर’ मल्टिस्टारर एक्सन सिनेमा हो । दिव्याले यो चलचित्र आफूले ठूलो अवसरको रूपमा लिएको बताइन् । उनका अनुसार, ‘पिताम्बर’ मा काम गर्दा उनले धेरै कुरा सिकेकी छिन् । “यो प्रोजेक्टमा आबद्ध हुन पाएकोमा म धन्य छु । फिल्म राम्रो बनेको छ र दर्शकले यसलाई मन पराउनुहुनेछ भन्ने आशा छ,” उनले भनिन् ।

अब दिव्या रायमाझीका लागि ‘एक्टर’ र ‘पिताम्बर’ दुबै चलचित्रले निर्णायक भूमिका खेल्ने देखिएको छ । दर्शकले उनको अभिनयलाई कस्तो प्रतिक्रिया दिन्छन् भन्ने हेर्न बाँकी छ । तर, स्टार किड्सको यात्रा सजिलो भए पनि प्रमाणित गर्न पर्ने संघर्षका लागि उनी पूर्ण रूपमा तयार देखिन्छिन् । उनका दुवै चलचित्रले अभिनयमा उनको क्षमता र भविष्यको यात्रालाई कस्तो दिशा दिन्छ भन्ने चासो सबैमा छ ।