ग्रीन कार्डप्रतिको मोहलाई व्यंग्यात्मक गर्ने चलचित्र ‘फेरि रेशम फिलिली’को ‘ग्रीन कार्डैमा’

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’ माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको छ ।

दीपक शर्माको शब्द र संगीत रहेको यो गीतमा डेविट शंकरको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई फिचर गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा नेपालीहरुको अमेरिकी सपनासँगै ग्रीन कार्ड पाएपछि गाउँबाट बिदा हुने दृश्य प्रस्तुत गरिएको छ । जहाँ अमेरिकाको ग्रीन कार्ड पाएपछि युवतीहरु उनका लागि हानाथाप गर्न र उनलाई विदाई गाउँ नै ओर्लिएको देख्न सकिन्छ ।

नेपाली समाजमा अमेरिकाको ग्रीन कार्डप्रतिको मोहलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको यो गीतले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

यसअघि २०७२ सालमा प्रदर्शन भएको ‘रेशम फिलिली’का लोकप्रिय गीत ‘पारी त्यो डाँडा’ले जस्तै नयाँ गीत ‘ग्रीन कार्डैमा’ले पनि दर्शकहरूको मन जित्ने अपेक्षा गरिएको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण गरिएको यो चलचित्रका लेखक तथा निर्देशक निरोज महर्जन हुन् । रौनक विक्रम कडेल निर्माता रहेको यस सिनेमाका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सहनिर्मातामा एनि थापा छन् ।

चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रमा सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, र कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ । सुरेन्द्र पौडेलको सम्पादन रहेको यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछन् ।

‘फेरि रेशम फिलिली’ले पुरानो ‘रेशम फिलिली’को जस्तै प्रभाव दर्शकमाझ छोड्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।