च्यारिटी शो मा दर्शक रुवाउने चलचित्र ‘जुना’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

अनमेल विवाहले एउटी नारीको जीवनमा कस्तो असर पर्छभन्ने अस्मिता ढकालमार्फत टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायत कलाकारलाई स्थान दिइएको छ ।

चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ । माघ २५ गते रिलिज हुने चलचित्र गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो । जीवन सेञ्चुरीको निर्देशन छ ।

सार्वजनिक टिजरमा चलचित्रकी प्रमुख कलाकार अस्मिता ढकालको पीडालाई देखाइएको छ । यो चलचित्र यसअघि विशेष शो तथा च्यारिटी शो देखाउँदा दर्शक डाको छोडेर रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए ।

‘जुनाः एक व्यथा’ले नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने सेञ्चुरीले बताए । उनले चलचित्रले बाल विवाह तथा महिलाको मुद्दा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताए ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी छ । चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ ।

चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।